काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ पालिकामध्ये १९ को अन्तिम मतपरिणाम आएको छ । काठमाडौंका १० नगरपालिका र १ महानगरपालिका, भक्तपुरका चार नगरपालिका र ललितपुरका १ महानगरसहित २ नगरपालिका र तीन गाउँपालिकामध्ये अब काठमाडौं र ललितपुर महानगरको मात्रै नतिजा आउन बाँकी छ ।
उपत्यकाका १६ नगरपालिका र तीन गाउँपालिकाको मतपरिणाम आउँदा यसपालि सबैभन्दा ठूलो फाइदा कांग्रेसलाई भएको छ भने एमालेले धेरै घाटा व्यहोर्नुपरेको छ । अघिल्लो चुनावमा काठमाडौंका ११ मध्ये महानगरपालिकासहित ७ नगरपालिकामा एमालेले जितेको थियो । कागेश्वरी मनोहरा, कीर्तिपुर, टोखा, तारकेश्वर, बुढानिलकण्ठ र शंखरापुरमा एमालेले मेयर जितेको थियो । ११ मध्ये ८ पालिका एमालेका उपमेयरले जितेका थिए ।
यसपालि एमालेले १० नगरपालिकामध्ये २ मात्रै मेयर जितेको छ । काठमाडौं महानगरमा पनि उसका उम्मेदवार दोस्रो स्थानमा छन् । उपमेयरमा भने एमाले उम्मेदवार निकै अघि छन् । यसपालि दक्षिणकाली नगरपालिकामा मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ । कीर्तिपुरमा मेयर कांग्रेसले जितेको छ भने उपमेयर पनि रूख चिन्हबाट चुनाव लडेकी जसपाकी शुभलक्ष्मी शाक्यले जितेकी छन् ।
चन्द्रागिरीको मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ । नागार्जुनमा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ । तारकेश्वरको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ । टोखामा मेयर एमालेले जितेको छ भने उपमेयरमा कांग्रेस विजयी भएको छ । बुढानिलकण्ठको मेयर र उपमेयर दुबै एमालेले जितेको छ । गोकर्णेश्वरमा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ ।
कागेश्वरी मनोहरामा मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ । शंखरापुरको मेयर राप्रपाले जितेको छ भने कांग्रेस उपमेयरमा विजयी भएको छ । भक्तपुरका चार पालिकामध्ये गत निर्वाचनमा एमालेले मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायणमा मेयर जितेको थियो। सूर्यविनायक र चाँगुनारायणमा उपमेयरमा जित हात पारेको थियो ।
यसपालि सूर्यविनायक नगरपालिकामा मेयर र उपमेयर दुबै एमालेले जितेको छ । मध्यपुर थिमीमा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेका छन् । चाँगुनारायणको मेयर कांग्रेसले जितेको छ भने उपमेयरमा एमाले विजयी भएको छ । भक्तपुर नगरपालिकाको मेयर र उपमेयर दुबै नेपाल मजदुर किसान पार्टीले जितेको छ । २०७४ मा ललितपुरका ६ पालिकामध्ये एमालेले महालक्ष्मी नगरपालिकाको मेयर र महांकाल गाउँपालिकाको अध्यक्ष जितेको थियो ।
यसपालि ललितपुरको महालक्ष्मी नगरपालिकामा मेयर एमाले र उपमेयर कांग्रेसले जितेका छन् । गोदावरी नगरपालिकाको मेयर र उपमेयर दुबै कांग्रेसले जितेको छ । कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष एमालेले र उपाध्यक्ष कांग्रेसले जितेका छन् । महांकाल नगरपालिकामा कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर जितेका छन् ।
बागमती गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेका छन् । उपत्यकाका हकमा माओवादीले अघिल्लो पटक एउटा गाउँपालिका अध्यक्ष जितेको थियो। यसपालि भने गठबन्धनको सहयोगमा उ भक्तपुर पनि पुगेको छ। मध्यपुर थिमीमा माओवादीले उपमेयर जितेको छ।