काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले बजेट कार्यान्वयनमा चुनौति रहेको बताएकी छन् । उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्नुनपर्ने चुनावी प्रचारको संज्ञा दिईन् ।
उनले १२ खर्ब, ४० अर्ब राजश्व उठाउने कुरा हास्यास्पद रहेको बताईन् । उनले आयातमा टिकेको राजश्व आयात घटाउने भएक कसरी उठ्छ भन्ने प्रश्न गरिन् । उनले उत्पादनमा लगाउने सट्टा वितरणमा लगाउने र बजेटको आकार बढाउने अर्थमन्त्रकिो कदम खतरनाक रहेको बताईन् । उनले यसले श्रीलंकाले अहिले भोगिरहेको परिणाम नेपालले भोग्ने बनाउनेतर्फ सचेत गराईन् ।
उनले भनिन्, ‘सरकार ५ महिना छ । त्यसपछि कुन सरकार बन्छ थाहा छैन । यही बजेट राख्छ वा अर्को ल्याउँछ पनि थाहा छैन । तर ५ महिनाको सरकारले ५ वर्षको बजेट ल्याएको छ । त्यसैले बजेट कार्यान्वयनमा चुनौति छ । यसलाई म श्रोत नभएको र कार्यान्वयन गर्नुनपर्ने चुनावी पर्चा भन्छु । १२ खर्ब, ४० अर्ब राजश्व उठाउने भनेको छ । हाम्रो राजश्व आयातमा अडेको छ । एकातिर हामी आयात घटाउने भन्छौँ । अर्कोतिर रातारात त राजश्वको श्रोत त परिवर्तन हुँदैन । राजश्व कहाँबाट आउँछ ? कसरी हामी खर्च धान्छौँ । आयातबाट उठ्ने थोरै राजश्व जुन छ, त्यो उत्पादनमा लगाउने सट्टा वितरणमा लगाउने र बजेटको आकार बढाउने यो खतरनाक छ । हाम्रो अर्थमन्त्रीले अहिले खतरनाक खेल खेल्नुभएको छ । यसको मूल्य श्रीलंकाले अहिले चुकाइरहेको छ, फेरि नेपालले पनि चुकाउनु नपरोस् । हामी सबैले यो हेक्का राख्नुपर्छ ।’
सदस्य पौड्यालले सरकारले वृद्धभत्ताको उमेर हद २ वर्ष घटाएर ६८ पु¥याएकोमा आपत्ति जनाईन् । मुलुक आर्थिक शंकटमा फसिरहेको बेलामा सरकारको यो निर्णयले देशलाई नै आर्थिक भार बढाउने बताईन् । उनले ६८ वर्षमा काम गर्न नसक्ने भनेर वृद्धभत्ता दिने हो भने शीर्ष सबै नेताहरुले काम गर्न छोडेर वृद्धभत्ता लिएर बस्न सुझाव दिईन् । उनले ५ महिना बाँकी हुँदा यो सरकारले मुलुकमा आर्थिक दायित्व थपेको आरोप लगाईन् ।
उनले भनिन्, ‘जति औषत आयु बढ्दै जान्छ, त्यति भत्ता पाउने उमेर बढाउनुपर्छ । प्राकृतिक नियम त्यो हो । तर हाम्रोमा नियम पछाडि दौडेको छ । दुई वर्ष घटाइएको छ । यो घटाउँदा कति आर्थिक दायित्व पर्छ भन्ने कुरा थाहा छैन । अर्को सरकारले क्रमशः ६५,५५ बनाउँछु भन्यो भने के गर्ने ? भोट माग्ने राजनीति न भएको छ । अहिले जुन काम गर्न नसक्ने भनेर ६८ राख्नुभएको छ, प्रधानमन्त्रीज्यू अस्तिनै पुगिसक्नुभएछ ६८ त । अरु शीर्षस्थ नेताहरु सबै ६८ वर्ष पुगिसक्नुभएको छ । उहाँहरु सबैले काम गर्न छोडेर भत्ता खाएर बस्नुस् भन्छु म । काम गर्न सक्नुहुन्न भने । ५ महिनाको सरकारले यसरी दायित्व थप्न मिल्छ ? यो उमेर घटाउने बेला हो ? बरु सामाजिक सुरक्षाको अन्य दायरा बढाउनु पर्छ । राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा एकदम राम्रो गरिरहेको छ । यसको बजेट घटाइएको छ । यसलाई बिस्तार गर्नुपर्छ ।’
सदस्य पौड्यालले राष्ट्रपति उत्थान कार्यक्रमले सुत्केरी सेवामा राम्रो काम गरिरहेपनि सरकारले बजेट घटाएको भन्दै आपत्ति जनाईन् । उनले राष्ट्रपति उत्थान कार्यक्रमलाई थप बिस्तार गर्न आवश्यक रहेको बताईन् । सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले बोल्ने क्रम नसकिएकोले राष्ट्रिय सभाको बैठक बुधवार पनि बस्नेछ । बैठक बुधवार दिउँसो १ बजे बस्नेछ ।