logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राष्ट्रिय सभामा सांसदहरुः असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

    राष्ट्रिय सभामा सांसदहरुः असंलग्न परराष्ट्र नीतिमा अडिग रहन सरकारको ध्यानाकर्षण

    2.9K
    Shares

     

    काठमाडौं । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार राष्ट्रिय सभामा बोल्दै सांसद देवले सरकार फेरिने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनुनहुने बताए । उनले अहिले विश्वको राजनीति र कुटनीति चुनौतीपूर्ण, खतरनाक अवस्थामा रहेको भन्दै नेपाल यसबारेमा सजग छ वा छैन भन्ने प्रश्न गरे । सांसद देवले नेपालले अन्तर्राष्ट्रिय कुटनीतिको बारेमा विशेष विश्लेषण गर्न आवश्यक रहेको बताए । उनले रुस–युक्रेन युद्ध र ताईवान आसपासका क्षेत्रमा भइरहेको चलखेलले नेपालमा पनि असर पर्नसक्ने भन्दै त्यसतर्फ सचेत रहेर काम अघि बढाउनु पर्ने बताए ।

    सांसद देवले भने, ‘विश्वको आजको जुन परिस्थिति छ, नेपालजस्तो सानो पछौटे र गरिबी मुलुक, सानो मुलुकको लागि अत्यन्त चुनौतीपूर्ण, खतरनाक छ । विश्वको राजनीति र कुटनीति आज चुनौतीपूर्ण तरिकाले अघि बढीरहेको अवस्था मैले देखिरहेको छु । यस्तो अवस्थामा समग्रमा नेपाल सरकार विशिष्टतामा परराष्ट्र मन्त्रालयले म आशा, विश्वास गर्दछु, अहिलेको समग्ररुपमा अन्तर्राष्ट्रिय राजनीति र कुटनीति जुन ढंगले अघि बढेको छ, त्यसको वृहत व्याख्या विश्लेषण भइराखेको होला भन्ने ठान्दछु । रसिया र युक्रेनको युद्धले युरोप र नेपालको पश्चिमतिर नयाँ परिस्थिति जन्माइरहेको अवस्था छ । रुस र युक्रेनको द्वन्द्व डोनवास क्षेत्रसँग मात्रै रहने हो कि, त्यो भन्दा पश्चिम किबसम्म जाने हो, झनै फैलिएर पश्चिम युरोपतिर जान्छ, हेर्नै बाँकी छ । यो युद्धले आर्थिक शंकट मात्रै होइन, धेरै ठूलो राजनीतिक र कुटनीतिक चुनौति विश्वसामु आइपरेको छ । अर्को चाइना सी, ताईवान आसपासका क्षेत्रमा पनि अर्को चुनौति देखिरहेको छ । यसले कुन बेला कस्तो स्थिति ल्याउँछ थाहा छैन । म आग्रह गर्न चाहन्छु, यो सामान्य कुरा होइन, त्यसकारण नेपाल सरकार र परराष्ट्र मन्त्रालय यो विषयमा विश्लेषण गरिरहेको होला । नेपालको असंलग्न परराष्ट्र नीतिमा अडिग रहनुपर्छ । सरकार आउने बित्तिकै फोरेन पोलेसी परिवर्तन हुने कुरा नेपालमा हुनुहुँदैन ।’

    त्यस्तै राष्ट्रिय सभा सदस्य सुरेश आलेमगरले लागुपदार्थ दुव्र्यसनको समस्या नेपालमा विकराल बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले देशमा १ लाख २५ हजार दुव्र्यसनीमा फसेका र अनौपचारिक रुपमा झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुव्र्यसनमा रहेको र देशभर भएका कारागारमा २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरु वा दुव्र्यसनीहरु रहेको बताए ।

    उनले भने, ‘लागुपदार्थ दुव्र्यसनको समस्या नेपालमा विकराल छ । यो समस्या संसारभर नै छ । आफूलाई लोकतन्त्रको ठेकेदार ठान्ने देशमा त झनै बढी छ । यो समस्याले करिव देशमा १ लाख २५ हजार दुव्र्यसनी छन् । यो औपचारिक आँकडा जस्तै हो तर अनौपचारिक आँकडाअनुसार झन्डै ५ लाख व्यक्तिहरु लागुपदार्थ दुव्र्यसनमा छन् । विशेष गरेर युवाहरु यस समस्यामा देखिएका छन् । २० देखि २९ वर्षका युवाहरु यसमा धेरै पाइएको छ । देशका विभिन्न ठाउँमा रहेका कैदीबन्दीमध्ये २१ प्रतिशत कैदीबन्दी लागुपदार्थका कारोबारीहरुको वा दुव्र्यसनीहरुको रहेको छ । यो समस्या समाधानका लागि देशले ठूलो ध्यान दिनुपर्नेछ । रिहाब सेन्टर बनाएर यसलाई नीतिको दायरामा ल्यानुपर्छ ।’

    राष्ट्रिय सभा सदस्य आलेमगरले २० देखि २९ वर्षका युवाहरु लागुपदार्थ दुव्र्यसनीमा धेरै रहेको उल्लेख गर्दै यो समस्या समाधानका लागि देशले विशेष ध्यान दिनुपर्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend