काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्री देउवाले विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची तय भएको छ ।
त्यस्तै जनार्दन शर्माले अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमाथि जवाफ दिने कार्यसूची छ । तर, प्रमुख प्रतिपक्ष एमालेले अर्थमन्त्रीले बजेट तयार पार्ने क्रममा अनाधिकृत व्यक्तिहरू प्रवेश गराएर कर, राजश्व र भन्सारका दर निर्धारण गरेको भन्दै अर्थमन्त्रीको विरोध गरिरहेको छ । आज बस्ने प्रतिनिधिसभा बैठकमा पनि अर्थमन्त्री बोल्दा एमाले सांसदहरुले संसद अवरोध गर्ने तयारी गरेका छन् ।