logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • हिउँदमा भारतसँग किनेको औसत दरभन्दा महंगोमा विद्युत निर्यात गर्दै प्राधिकरण

    हिउँदमा भारतसँग किनेको औसत दरभन्दा महंगोमा विद्युत निर्यात गर्दै प्राधिकरण

    2.8K
    Shares

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले हिउँदमा लोडसेडिङ हुन नदिन भारतबाट आयात गरेको भन्दा नेपालले अहिले भारतलाई बेचिरहेको विद्युतको दर महंगो भएको पाईएको छ । प्राधिकरणले हिउँदमा नेपालमा आयात गरेको विद्युतको प्रतियुनिट औसत दर प्रतियुनिट ९ रुपैयाँ ७ पैसा छ । प्राधिकरणले अहिलेसम्म भारत निर्यात गरेको विद्युत्को प्रतियुनिट औसत दर ११ रुपैँया ३८ पैसा रहेको छ । जुन आयातको तुलनामा प्रति युनिट १ रुपैयाँ ६८ पैसा बढी हो ।

    भारतबाट महंगोमा विद्युत आयात गरेको र अहिले सस्तो दरमा बिक्री गरेको भन्ने सांसदको प्रश्नको बुधबार संसदमा जवाफ दिंदै ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आयातको दरभन्दा अहिलेको निर्यातको दर महँगो रहेको बताइन् ।

    वर्षातको समयमा आन्तरिक उत्पादनबाट देशभित्रको विद्युत मगलाई धानेर अतिरिक्त भएको निर्यात गर्ने अवस्था भएता पनि हिउँदका केही महिना अझै भारतबाट विद्युत आयात गर्नु पर्ने बाध्यता छ । नेपालले सुख्खायाममा खरिद गर्ने विद्युत मुलत तीन वटा बजारबाट खरिद हुने गरेको छ ।

    पहिलो भारतबाट अल्पकालिन द्विपक्षीय सम्झौता गरी लामो समयदेखि सुख्खायाममा विद्युत आयात गर्ने गरिएको छ । यसरी आयात गरिने विद्युतको खरिद दर प्रतियुनिट क्रमशः नेपाली ६ रुपैँया ६५ पैसा र ६ रुपैँया ५९ पैसा रहेको छ ।

    दोश्रो भारतको बिहार राज्यबाट आवश्यक परेको बेलामा मात्र लिने गरी प्रति युनिट ९ रुपैँया ८९ पैसामा आयात गर्ने गरिएको र सोही मूल्यमा नेपालले पनि बढी हुने विद्युत बिहारमा निर्यात गर्दै आएको छ । तेश्रो भारतको प्रतिस्पर्धी बजारबाट हरेक दिन बोलकबोल गरी आयात गर्ने गरिएको छ । यो बजारमा कुनै दिन सस्तो र कुनै दिन महँगो विद्युत खरिद गर्नुपर्ने हुन्छ।

    नेपालले हाल वर्षायाममा बढी हुने ३६४ मेगावाट विद्युतको हाराहारीमा प्रतिस्पर्धि बजारमा दैनिक १० देखि १२ करोड नेपाली रुपैँयामा भारत निर्यात गरिरहेको छ ।

    आगामी आर्थिक वर्ष वर्षायाममा उत्पपादन हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैँया बराबरको अतिरिक्त विद्युत निर्यात गर्न सकिने प्राधिकरणको प्रक्षेपण छ । आगामी पाँच वर्षमा हरेक वर्ष करिब ७० अर्ब नेपाली रुपैँयाभन्दा बढीको विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको मन्त्री भुसालले बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend