काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय नयाँ–नयाँ प्रविधिबाट भइरहने डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका छन् । शुक्रवार नेपाल चार्टड एकाउण्टेन्ट्स संघ (एक्यान) को ३७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले डिजिटल कारोबार बढ्दै जाँदा अर्थतन्त्रमा समस्या देखिएकाले डिजिटल कारोबारको अध्ययन लेखा परीक्षकहरुले गर्नुपर्ने बताएका हुन् ।
उनले अडिटरहरु नै डिजिटल कारोबारको विज्ञ भएको पनि बताए । मन्त्री शर्माले नेपालमा डिजिटल कारोबार क्रिप्टोकरेन्सी लगायत अन्य धेरै कारोबार भइरहेको बताए । उनले डिजिटल रुपमा कारोबार हुने सबै कारोबारको अध्ययन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे ।
मन्त्री शर्माले भने,‘ अर्थतन्त्रमा समस्याहरु धेरै छन् । अहिले नयाँ नयाँ डिजिटल प्रविधिहरुबाट कारोबारहरु भइरहेका छन् । ती कारोबारको बारेमा अध्ययन गर्ने कसले हो । यहाँहरु नै विज्ञ हुनुहुन्छ । यहाँहरुले नै अध्ययन गर्नुपर्छ होला । अहिले युग नै डिजिटलमा जाँदैछ । क्रिप्टो लगायतका तमाम केके थुप्रै कारोबारहरु भइरहेका छन् । यी सबै कारोबारहरुको अध्ययन कसरी गर्ने,नेपालको अर्थतन्त्रमा कहाँ समस्या छ कसले अध्ययन गर्ने त ? परीक्षकहरुले नै यो संस्थालाई कमजोर छ भन्दै हिँड्ने हो भने कसरी यसको सवलिकरण हुन्छ । लेखा परीक्षकहरुले त्यतातिर ध्यान दिनुपर्छ ।’
मन्त्री शर्माले लेखा परीक्षणमा नै समस्या रहेकाले सरकारको ठूलो रकममा बेरुजु बढ्दै गएको बताए । उनले लेखा परीक्षणमा समस्या हुँदा एकपछि अर्को बेरुजु थुप्रिँदै गएको दाबी गरे । मन्त्री शर्माले विभिन्न निकायहरुले लेखा परीक्षण समयमा नै नगर्दा राज्यले बेरुजुको भार बोक्नुपरेको बताए । उनले सरकारलाई वर्षैपिच्छे बेरुजु भार पर्दै जानुमा लेखा परीक्षणलाई तोकिएको विधि मान्यता र समयमा भुक्तानी गरेर अडिट गरी प्रमाणित नगर्नु नै प्रमुख कारण रहेको जिकिर गरे ।
मन्त्री शर्माले भने,‘ लेखा परीक्षण कार्यालयहरुमा गएर सरकारले अडिटहरु गर्ने गरिन्छ । फेरि पनि अहिले सरकारको ठूलो ठूलो एकपछि अर्को बेरुजु थुप्रिँदै गइरहेको छ । हाम्रो एकाउण्टकै समस्या हो । त्यसलाई सही ढङ्गले समयमा निरुपण,अडिट र व्यवस्थापन नगर्दा समस्याहरु परको छ । अहिले राज्यले थुप्रै बेरुजु खेप्नुपरेको छ । यतै कतै कमजोरी छ । लेखा कमजोरीको कारणले त्यो भएको छ । लेखा परीक्षणलाई तोकिएको विधि मान्यता समयमा नै त्यसलाई भुक्तानी गरेर अडिट गरी प्रमाणित गर्ने व्यवस्थाका समस्या हुन् ।’
अर्थमन्त्री शर्माले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शिता बनाउनु राष्ट्रिय चुनौतीको रुपमा रहेको बताए । उनले आर्थिक सुशासन ,जवाफदेहिता र पारदर्शितालाई स्वार्थ अनकुल व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको बताए । मन्त्री शर्माले मुलुकको अर्थतन्त्रमा कस्तो लाभ हुन्छ भन्ने आधारमा मूल्याङ्कन गर्नुको सट्टा व्यक्ति, समूह र गुटगत स्वार्थको आधारमा मूल्याङ्कन गरेर भ्रम सिर्जना गर्ने काम भइरहेको गुनासो गर्नुभयो । उहाँले नेपाल चार्टड एकाउण्टेन्ट्स धेरै संस्थादेखि सरकारको राजश्व तथा करसँग समेत जोडिएकाले पारदर्शिताका साथ काम गर्दा मुलुकलाई योगदान पुग्ने बताए ।
मन्त्री शर्माले भने ,‘ आर्थिक सुशासन र जवाफदेहिता कसरी निर्वाह गर्ने विषय नै अहिलेको मुख्य प्रश्न र राष्ट्रिय चुनौती हो । त्यस कारणले जवाफदेहिता र पारदर्शितालाई आफ्ना स्वार्थ, व्याख्या,परिभाषा गर्ने खालको प्रवृति हाबी हुँदै गएको छ । यो देशको हीतको लागि छ की छैन ? त्यसले मुलुकको अर्थतन्त्रमा के गर्छ ? भन्ने कुराहरुको आधारमा हामीले मूल्याङ्कन गर्नुको सट्टा त्यतातिर मूल्याङ्कन नगरेर व्यक्तिगत, समूहगत,गुटगत स्वार्थको आधारमा मूल्याङ्कन,विश्लेषण गरेर भ्रम सिर्जना गर्ने कामहरु भइरहेका छन् । यी समग्रको पक्ष भनेको पारदर्शिता र जवाफदेहिताकै प्रश्नहरु हुन् । यी सबैका लागि कार्यान्वयन हुने कुराहरु हुन् । यो संस्था पनि त्यतातिर ध्यान दिनुपर्छ । किनकी यो धेरै संस्थाहरुसँग जोडिएको छ । देशको राजश्व तथा करसँग जोडिएको छ । त्यसलाई पारदर्शिता बनाएर काम गर्दा देशमा योगदान पु¥याएको हुन्छ । त्यहाँ अन्य हिसावहरु पनि मिलन गर्नुहुन्छ होला भन्ने लाग्छ थाहा छैन ।’