काठमाडौं । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सरकारले ल्याएको बजेटमा बिरोध नगर्न सांसदहरूलाई निर्देशन दिएको छ ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शनिबार बसेको संसदीय दलको बैठकले बजेटको पक्षमा उभिने निर्णय गर्दै ह्वीप जारी गरेको छ ।
बैठकमा सहभागी भएका प्रदेशसभा सदस्यहरूले बजेटमा त्रुटी भएकाले संशोधन गर्नुपर्ने माग राखेका थिए । यता मुख्यमन्त्री भट्टले कार्यान्वयनका क्रममा त्रुटी सच्याउने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरू बजेट पारित गर्न सहमत भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले बताए ।
असार १ गते प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले प्रदेशसभामा प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७९÷८० को बजेट संशोधनको माग गर्दै सत्तारुढ दलकै सांसदहरूले प्रदेशसभा चल्न नदिने चेतावनी दिएपछि बैठक बस्न सकेको छैन् ।
सत्ता पक्ष र प्रतिपक्षका प्रदेश सभा सदस्यहरूले बजेट संशोधन नहुँदा सम्म बजेटमाथि छलफल हुन नसक्ने बताउँदै आएका छन् ।
उनीहरूकै विरोधका कारण बजेट छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक तीन पटक सम्म स्थगित भइसकेको छ ।