काठमाडाै । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पछिल्लो समय बैंकिङ ब्याजदर वृद्धिको कारण बजारमा मूल्यवृद्धि भएको बताएका छन् । आईतवार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले अगामी आर्थिक वर्ष मौद्रिक नीतिका विषयमा सुझाव कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
उनले राष्ट्र बैंकले बैंकहरुको ब्याजदर नियन्त्रण गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । अध्यक्ष गोल्छाले पछिल्लो ६ महिनामा मात्रै बैंकको ब्याजदर दोब्बरले बढ्दा व्यवसायीहरु समस्यामा परेको बताए । उनले अहिले सिमित तरलता रहेको अवस्थामा उत्पादन उद्योगमा लगानी लगाउनुपर्ने अवस्था रहेको बताए । अध्यक्ष गोल्छाले बैंकले कर्जा प्रवाहमा कडाइ गर्दा सरकारको राजश्व लक्ष्य प्रभावित हुने बताए । उनले पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बन्दै गएकाले मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताए । अध्यक्ष गोल्छाले उद्योगहरुले बैंकबाट कर्जा नपाउँदा व्यवसाय ठप्प रहेको भन्दै अहिले संकटको समयमा केन्द्रिय बैंकले सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने निजी क्षेत्रले अपेक्षा गरेको बताए । उनले बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउन माग गरे । अध्यक्ष गोल्छाले तरलता अभावको कारण बैंकहरुबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र ठप्प हुने अवस्थामा रहेको बताए ।
उनले भने,‘ विगतमा ब्याजदर कम थियो त्यो बेला पनि विकृति थियो । मूल्यवृद्धि भन्दा पनि ब्याजदर कम हुँदा आफ्नै समस्याहरु लिएर आउँछ । अहिलको ब्याजदर बजारको मूल्यवृद्धिलाई धान्न नसक्नेगरी आएको छ । विभिन्न देशको बैंकको ब्याजदरलाई नियन्त्रण गरेको हुन्छ । ६ महिनामा ब्याजदर दोब्बर भएर गएको छ । राष्ट्र बैंकले समयमा नै नियन्त्रण गरेको भए अहिलको अवस्था आउने थिएन । हामीसँग लगानी योग्य रकम तरलता सिमित रहेको छ । हामीले उत्पादन क्षेत्रमा लगानी गर्न आवश्यक छ । उत्पादन क्षेत्र नै हाम्रो अर्थतन्त्रको आधार हो । उत्पादन क्षेत्रमा लगानी गर्दा रोेजगारी सिर्जना र अर्थतन्त्र चलायमान हुन्छ । तर आयातित क्षेत्रमा लगानी बन्द गर्ने हो भने राज्यको राजश्व सिधै घट्छ । त्यसैले हामी ब्यालेन्समा चल्नुपर्ने हुन्छ । राजश्व नभइ राज्य सञ्चालन गर्न सकिदैन । उत्पादन क्षेत्रको मात्रै कुरा गरेर आयातित क्षेत्रमा कर्जा नदिने हो भने अर्को विकृति आउनसक्छ । मौद्रिक नीतिले सम्बोधन गर्छ भन्ने आशा गरेका छौं । पछिल्लो समय साना र मझौला उद्योगीको स्थिति नाजुक बनेको छ । बैंकबाट कर्जा नपाउँदा उद्योग व्यवसाय ठप्प भएका छन् । अहिले संकटको समयमा केन्द्रिय बैंकले यी सबै समस्या समाधान गर्नेगरी मौद्रिक नीति ल्याउँछ भन्ने अपेक्षा छ । कोरोना महामारीपछि अर्थतन्त्र चलायमान बनाउन केन्द्रिय बैंकले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै आगामी आर्थिक वर्षको मौद्रिक नीतिले पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भुमिका खेल्नुपर्छ । राष्ट्र बैंकले समयमै नीतिगत हस्तक्षेप गरेको भए पछिल्लो ६ महिनामा ब्याजदर दोब्बर बिन्दुमा पुग्ने थिएन । अब बजारमा देखिएको तरलता समस्या समाधान गर्न तरलता रेसियो २० प्रतिशतबाट १५ प्रतिशत बनाउनु पर्छ । बैंकको नाफामा कडाइ गर्नुपर्ने, आयातका लागि एलसी खोल्दा नगद मार्जिन राख्नुपर्ने निर्णय हटाउनु पर्छ । एलसी मार्जिनका विषयमा राष्ट्र बैंकले नभएर वाणिज्य बैंकले निर्णय गर्नुपर्ने, शोधनान्तर घाटा उच्च भएको छ । यसलाई सुधार गर्नुपर्ने छ । भएको पुँजीलाई परिचालन गर्न केन्द्रीय बैंक अग्रसर हुनुपर्नेछ । शेयर लगानीकर्ताले धेरै गुमाइसकेका छन् । उनीहरूलाई राहत पुग्ने नीति लिनुपर्छ । अहिलेको समस्या आउनुमा बैंक पनि कारक भएकाले बैंकले पनि ’पेन’ लिनुपर्छ । शतप्रतिशत मार्जिनलाई पुनर्विचार गर्न भन्दै यसबाट बैंकहरू मात्र लाभान्वित भएको छ, यस्तो निर्णय वाणिज्य मन्त्रालयलाई गर्न दिनुपर्नेछ ।’