काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा को दोस्रो कार्यसमितीको बैठक स्थगित भएको छ । ललितपुर स्थित एन्फा मुख्यालयमा बिहीवार बसेको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको हो । दोस्रो कार्यसमिति बैठकमा विभिन्न १८ एजेण्डा तय भएका थिए । एन्फा मुख्यालयमा बिहान सात बजे बैठक बस्ने भनिए पनि बैठक ढिलो गरि शुरु भएको हो । ढिलो गरी शुरु भएको बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले जानकारी दिए ।
पहिलो पटक एजेण्डा र सूचनासहित एन्फा कार्यसमितिको बैठक बोलाईएको हो । यसअघि गत सोमवारका लागि तय भएको सो बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अचानक बिरामी परेपछि स्थगित भएको थियो । निर्वाचनपछि भएको शपथग्रहण लगत्तै बसेको पहिलो बैठकले विवादास्पद रुपमा केही महत्वपूर्ण निर्णय गरेपछि आलोचित भएको नयाँ नेतृत्वको दोस्रो बैठकलाई अर्थपूर्ण तरिकाले हेरिएको छ ।
बैठकका लागि विभिन्न एजेण्डा तय भएपनि छलफल भने भागबण्डामै केन्द्रित हुने पक्का छ । प्रमुख कार्यकारी अधिकृत सिइओ, तीन सह महासचिव, प्रवक्ता र विभिन्न मानार्थ पदमा कसलाई नियुक्त गर्ने भन्ने विषयमा एन्फा बैठकमा छलफल हुने बताइएको छ । चुनावमा तत्कालिन अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष नेम्वाङ पूरा प्यानल नै लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । साधारणसभाले एक उपाध्यक्षसहित सात जना शेर्पा प्यानलका उम्मेदवार चुनेको थियो ।