काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार मर्यादित प्रेस र अभिव्यक्ति स्वतन्त्रताको लागि पत्रकारहरुको साथमा रहेको बताएका छन् । सोमवार सूचना तथा प्रशारण विभागले सञ्चार मन्त्रालयमा आयोजना गरेको ज्येष्ठ पत्रकार वृत्ति वितरण तथा पुस्तक विमोचन कार्यक्रम’मा बोल्दै मन्त्री कार्कीले सरकार मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्न पत्रकारहरुको साथमा रहेको बताएका हुन् ।
उनले सरकार प्रेस जगतको साथमा रहेको बताए । मन्त्री कार्कीले समाजलाई मर्यादित, निष्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिता आवश्यक रहेको पनि उल्लेख गरे । उनले विश्वास आर्जन गर्ने पत्रकार जमातको आवश्यकता रहेको बताए ।
उनले भने – ‘मर्यादित प्रेस, अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई अक्षुण राख्नका निमित्त हाम्रो संविधानले जुन परिकल्पना गरेको छ । त्यो परिकल्पनालाई साकार गर्न । त्यो परिकल्पनालाई अझ परिष्कृत बनाउनका निमित्त अहिलेको सरकार पत्रकारका साथमा छ । प्रेस जगतको साथमा छ । अब हामीलाई मर्यादित, निस्पक्ष, स्वतन्त्र र व्यवसायिक पत्रकारिताको आवश्यकता छ अहिले समाजलाई । सबैभन्दा ठूलो कुरो विश्वास आर्जित गर्ने पत्रकार जमातको आवश्यकता छ । आजको दिनले त्यतातर्फ हामी सबैलाई अग्रसर गराउन प्रेरित गर्नेछ भन्ने विश्वास मैले लिएको छु ।’
मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण गरेसँगै नेपालमा खेर गइरहेको विद्युत भारतीय बजारमा प्रवेश गरेको बताए । अब भारतमा विद्युत बेचेवापत् प्रतिमहिना २ अर्ब रुपैयाँ प्राप्त गर्ने उनले बताए । आगामी दिनमा १५ हजार मेघावाट विद्युत भारतीय बजारमार्फत अन्य बजारमा पु¥याउन सकेमा प्रतिमहिना २ खर्ब रुपैयाँ आर्जन हुनसक्ने उनको भनाई छ ।
उनले भने– ‘हामीसँग सम्भावनाहरु पनि त्यत्तिकै छ । चुनौतीहरु पनि त्यत्तिकै छन् । हामी सबै मिलेर अहिलेका चुनौतीहरुसँग सामना गर्नसक्यौँ भनेदेखि दश वर्ष भित्रमा यो देशलाई एशियाको धनि देशको रुपमा यसलाई विकसित गर्नसक्छौँ । अहिले प्रधानमन्त्रीले भारत भ्रमणपछि हामीसँग उत्पादन भएको बिजुली जुन खेर जाँदै थियो, भारतको बजारमा प्रवेश गरेको छ । अहिले नै करिब २ अर्ब रुपैयाँ जति हामी हरेक महिना त्यसबाट प्राप्त गर्दैछौँ । आगामी दिनमा हामीले विद्युत क्षेत्रको विकास गरेर कमसेकम १५ हजार मेघावाट विद्युत भारतीय बजारमार्फत बंगलादेश तथा अन्यत्रको बजारमा पनि हामीले पु¥याउनसक्यौँ भनेदेखि महिनाको मोटामोटी २ खर्ब रुपैयाँ आर्जन गर्नसक्ने अवस्थामा पुग्न सक्दछौँ । त्यो पैसा हामीले पूर्वाधारमा लगाउन सक्छौँ । सामाजिक सेवामा लगाउन सक्छौँ ।’
उनले पत्रकारहरुलाई जिवनको उत्तराद्र्धमा सरकार आफ्नो साथमा छ भन्ने अनुभुति गराउन सकिएमा पत्रकारिता निर्भिकताका साथ अगाडी बढ्ने बताए ।