काठमाडौं । प्रतिनिधिसभा सदस्य प्रतिनिधिसभा सदस्य मीना सुब्बाले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भएपनि सरकारले नघटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । इन्धनको मूल्य घटाउन नेपाल आयल निगमलाई ध्यानाकर्षण गराइन् । प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले काठमाडौंमा ७१ दिनदेखि फोहोर उठ्न नसकेको भन्दै सरकारको आलोचना गरे ।
उनले काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई फोहोर उठाउने सन्दर्भमा सरकारको भर नपर्न सुझाव दिए । उनले एमाले सहयोग गर्न तयार रहेको भन्दै ठोस प्रस्तावसहित एमालेसँग सम्वादमा आउनका लागि मेयर साहलाई आग्रह पनि गरे । उनले भने– ‘यसअघि काठमाडौंको फोहोर १४ दिनसम्म नउठेको इतिहास छ ।
आज ७१ दिन भयो प्रधानमन्त्रीले कुनै पहल गर्नुभएको छैन । सम्बन्धित मन्त्रीहरु बेखबर छन् । त्यस्तै झाडापखाला, हैजा लगायत काठमाडौंको फोहोरले काठमाडौंलाई डुङ्डुङ्ती गन्हाउने अवस्थामा पुगेको छ । यो सरकारले कुनै पहलकदमी गर्न सक्दैन । यो सरकारको हुती पनि छैन । त्यसैले म सरकारको ध्यानाकर्षण गर्दिन आज । म काठमाडौंका मेयर बालेन साहलाई भन्न चाहन्छु, आउनुहोस् ठोस प्रस्तावसहित नेकपा(एमाले)सँग त्यो भिजन छ । दृष्टिकोण छ । नेकपा(एमाले) पूर्ण क्षमताका साथ तपाईलाई सहयोग गर्न तयार छ ।’
प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा पनि आयल निगम चुप लागेर बसेको बताए । उनले स्वचालित रुपमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्न माग गरे ।
प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गरे । राजधानी काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उनको भनाई छ ।
प्रतिनिधिसभा सदस्य रेणुका गुरुङले निहारिका राजपुतले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने अवस्था किन आयो भनि सरकारलाई प्रश्न गरिन् । उनले सरकारको प्रशासनिक र न्यायिक संयन्त्र असफल भएकै हो भनि सरकारको जवाफ माग समेत गरिन् ।
उनले मधेशका मिटरब्याज साहु पीडित नागरिकलाई न्यायको अनुभूति दिने दायित्व राज्यको भएको बताइन् । उनले कार्यदलको नाममा पीडितलाई अल्मल्याउने र पीडकलाई उन्मुक्ति दिने कार्य नगर्न सरकारको ध्यानाकर्षण गराइन् ।