
काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनमा चिया निर्यात गर्न सकेमा भारतमा निर्यात गर्दा भन्दा तेब्बरसम्म बढी फाइदा हुने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा बजार पाउन सके नेपाली चियाका लागि नयाँ युग सुरु हुने बताएका हुन् ।
‘‘अहिलेसम्म हामीले भारतीय बजारमार्फत चिया निर्यात गर्दा ४ अर्बको ब्यापार हुन्छ । हरेक वर्ष चीनतिर निर्यात गर्न सकेमा त्यसको दुई वा तीन डबल प्राप्त हुन्छ । यस्तो भयो भने नेपाली चिया उत्पादनका लागि नयाँ युग सुरु हुन्छ’ खनालले भने । चीनमा नेपाली चियाको बजारका लागि आफूले व्यक्तिगत स्तरमा र परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममा कुराकानी गरेको पनि उनले बताए ।
भारतका ४१ जना सांसदले नेपालको चियामा विषादी मिसिएको भन्दै आरोप लगाउँदै चियामा ४० प्रतिशतसम्म कर लगाउनुपर्छ भनेर भारत सरकारलाई सुझाव दिएको छ। ‘धेरै विदेशी मुद्रा भित्र्याउने चियाको बजार संकटमा पर्न लागेको भन्दै खनालले सरकारले तत्कालै यसको अन्तर्राष्ट्रिय बजारको व्यवस्थापन गर्न जरुरी रहेको बताए । आफूले इलामदेखिका चिया उत्पादक, उद्यमीसहितको टिम लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गरेको र उनले भारतीय पक्षसँग वार्ता गर्ने आश्वासन दिएका खनालले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend