logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पहिराको उच्च जोखिममा घामपानी बस्ती

    पहिराको उच्च जोखिममा घामपानी बस्ती

    15.6K
    Shares
    पहिराको उच्च जोखिममा घामपानी बस्ती

    बाग्लुङ ।

    निरन्तर वर्षाका कारण गलकोट नगरपालिका–२ को घामपानी बस्तीका सातघर पहिराको उच्च जोखिममा परेको छ । गलकोट–२ का वडाध्यक्ष हिमबहादुर भण्डारीले यहाँ रहेका सात घर पहिराको जोखिममा रहेको जनाउँदै ती घरका परिवारहरूलाई सुरक्षित स्थानमा सार्न माग गरे । “निरन्तर वर्षाका कारण यहाँको घामपानी बस्ती पहिरोको जोखिममा छ, यहाँ सात घर परिवार बस्दै आएका छन्, उनीहरूलाई सुरक्षित स्थानमा बस्न लगाएका छौँ, अझै ठुलो वर्षा भयो भने यहाँको बस्ती पहिराले बगाउन सक्ने देखिन्छ, बस्ती पहिराको बीचमा रहेको हुँदा पानी पर्दा यहाँ बस्न निकै जोखिमपूर्ण छ”, उनले भने ।

    उनका अनुसार वर्षाका कारण वडा कार्यालयदेखि गाउँ–गाउँसम्म पुग्ने ग्रामीण सडक पूर्णरुपमा अवरुद्ध भएको छ । सडक खुलाउन अझै केही समय लाग्ने जनाइएको छ ।

    अध्यक्ष भण्डारीका अनुसार वडा नम्बर २ कै खालीखोलामा पहिरोसहितको बाढीले सयौँ रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । गए राति आएको पहिरोसहितको बाढीले दुई यस रोपनी धानबाली लगाएको खेत पुरिएको हो ।

    राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको भ्यूटावर क्षेत्रमा सडकको नाली थुनिएपछि भीषण पहिरोसहित आएको बाढीले स्थानीय कृषकको धानबाली लगाएको खेत पुरिएको जनाइएको छ । बाढीले धानबालीसहित सयौँ रोपनी खेत पुरिँदा करोड बढीको नोक्सानी भएको अध्यक्ष भण्डारीले बताए ।

    स्थानीय प्रेमबहादुर भण्डारीले बाढीले पसाउन लागेको धानसहित खेत पुरेपछि आफ्नो लाखौँको सम्पत्ति बगरमा परिणत भएको गुनासो गरे । उनको चार रोपनी खेत पहिराले बगाएको छ । लोकमार्गबाट बग्ने पानी तर्काउने र माथिबाट बग्ने भल व्यवस्थापन गर्नसके क्षति कम गर्न सकिने जनाइएको छ । “सरकारले हाम्रो लागि तटबन्ध गरी दिए अर्को साल खेती गर्ने गरी यो ठाउँलाई बनाउन सकिन्थ्यो, माथिबाट आउने भललाई नियन्त्रण गर्न र तटबन्धका लागि थोरै भए पनि सरकारले हामीलाई सहयोग गरोस्”, उनले भने ।

    अर्का स्थानीय यामबहादुर भण्डारीको तीन रोपनी खेत पुरिएको छ । उनले लोकमार्गबाट आउने भल व्यवस्थापन नहुँदा ठुलो क्षति व्यहोर्नुपरेको जानकारी दिए । गलकोट नगर प्रमुख भरत शर्मा गैरेले बाढीपीडिले तटबन्धको माग गरेको जनाउँदै नगरपालिकाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिए । उनले भने, “लोकमार्गबाट बगेर आएको पानीले यति ठुलो क्षति पुर्‍याएको छ, पीडितले ग्याबिन निर्माण गर्न माग गर्नुभएको छ, हामीले यसतर्फ ध्यान दिएका छौँ पानी रोकियो भने काम अगाडि बढाउने छौँ ।” -रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend