logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • देउवाले पत्नी आरजु मार्फत पठाए उजुरीको जवाफ

    देउवाले पत्नी आरजु मार्फत पठाए उजुरीको जवाफ

    3.1K
    Shares

    काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूविरुद्ध निर्वाचन आयोगमा गरेको उजुरीको जवाफ फर्काएका छन् । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देउवाले मंगलबार पत्नी आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जवाफ बुझाएका हुन् ।

    डडेलधुराका मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले प्रमाणसहित उजुरीको जवाफ आएको जानकारी दिए । ‘नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक–फरक रहेको भन्दै उजुरी परेको थियो’ उनले भने, ‘२ बजेसम्म जवाफ दिने समय तोकिएकोमा दुई घण्टाअगाडि नै जवाफ आइसकेको छ । छानबिन गर्दै आज साँझ ५ बजेसम्म निर्णय लिन्छौँ ।’

    उमेदवारविरुद्ध परेका उजुरीको निर्णय निर्वाचन अधिकृतले नै गर्न पाउने कानुनी व्यवस्था छ । देउवापत्नी आरजुले प्रमाणका रूपमा वडा कार्यालयको सिफारिस पनि बुझाएकी छन् । यस्तै, नागरिकताअनुसार नै निर्वाचन आयोगले मतदाता नामावली तयार पारेकाले विवरण प्रविष्ट गर्दा आयोगले नै त्रुटि गरेको जवाफमा उल्लेख गरिएको कांग्रेसका एक नेताले बताए ।

    एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उमेदवारी दिएका देउवाको उमेदवारी रद्द गर्नुपर्ने माग गर्दै उनका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका थिए । देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै मल्लले उमेदवारी खारेजीको मागसहित उजुरी दिएका हुन् ।

    नागरिकतामा देउवाको जन्ममिति वि.सं. २००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको पाइएको छ । देउवाको उमेदवारीविरुद्ध उजुरी दिने मल्ल कांग्रेस डडेलधुराका पूर्वसभापति समेत हुन् । उनी ०७४ सालको निर्वाचनमा कांग्रेसबाटै प्रदेशसभा सदस्यमा विजयी भएका थिए ।

    गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेसँग तालमेल गर्दै कांग्रेस बीपीको चुनाव चिह्नबाट आफूनिकटका व्यक्तिलाई उमेदवार बनाएको भन्दै कांग्रेसले मल्ललाई पार्टीबाट निष्कासित गरेको थियो । अहिले कांग्रेस बीपीका वरिष्ठ उपसभापति रहेका मल्लले देउवाविरुद्ध चुनाव लड्न उमेदवारी दर्ता गराएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend