काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको निजी क्षेत्रसँग सहकार्य गर्दै विदेशमा आर्जन गरेको ज्ञान, सिप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । गैर आवासीय नेपाली संघको वार्षिक साधारणसभाको अवसरमा मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको र यहाँ लगानीको प्रतिफल पनि अन्य देशमा भन्दा राम्रो रहेको बताए ।
‘नेपालमा लगानीको वातावरण छ । पूराना र जटिल कानूनहरु परिवर्तन भएका छन् । अरु बाँकी कानूनहरु परिवर्तन हुँदैछन् । नेपालमा धेरै सम्भावना छन् । प्रतिफल पनि तपाईले अन्य देशमा पाउने भन्दा राम्रो छ’, उनले भने । गैर आवासीय नेपाली संघले एनआरएन कोष स्थापना गरी कलेक्टिभ रुपमा नेपालमा लगानी गर्न सुरुगरेको बताउँदै यसलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन उनले आग्रह गरे ।
वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवसीय नेपालीहरुलाई लक्षित गरी विदेशमा रहेका नेपालीहरुलाई नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोल्ने सुविधा सुरुभएको जानकारी दिए । उनले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैर आवासीय नेपाली संघलाई समेत आग्रह गरे ।