आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मतदातालाई ईश्वर पोखरेलको आग्रह-मेरो राजनीतिक उचाई हेरेर ममाथि आरोप लगाउलान तर भ्रममा नपर्नु

मतदातालाई ईश्वर पोखरेलको आग्रह-मेरो राजनीतिक उचाई हेरेर ममाथि आरोप लगाउलान तर भ्रममा नपर्नु

काठमाडौं । नेकपा एमालेको तर्फबाट काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल घरदैलो कार्यक्रममा व्यस्त छन् । काठमाण्डौ महानगरपालिका वडा नम्वर २ स्थित मतदाता भेटघाटका क्रममा प्रतिनिधिसभाका उम्मेदवार ईश्वर पोखरेलले विगतमा चुनाव हार्दा होस् या जित्दा जनताको साथ नछोडेको भन्दै पुनः एकपटक मत दिन मतदातासँग आग्रह गरेका छन् । २०६४ र २०७० को निर्वाचनमा झिनो मतले पराजित भएका पोखरेलले आफुहरुको साथ नछोडेको र २०७४ को निर्वाचन जितेपछि जनताको हरेक समस्या समाधानका लागि धेरै काम गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।

मतदाताको सकारात्मक प्रतिक्रिया सुनेपछि पोखरेलले वडा नम्बर २ एमालेका नेता स्व.मनमोहन अधिकारी जन्मेको ठाउँ भएकाले पनि आफू यही क्षेत्रबाट उम्मेदवार बन्न पाउनु सौभाग्यको कुरा भएको बताए । पोखरेलले २०३९ सालदेखि वडा नम्बर २ मा एमालेले पराजय बेहोर्नु नपरेको स्मरण गराए ।

पोखरेलले जनताले मनमा लागेका कुरा निर्धक्कसँग बोल्न आग्रह गर्दै आफू जनताको सबैखाले कुरा सुन्न तयार रहको बताए । “रोग निको उपचार गर्न डाइग्नोसिस गर्नुपर्छ । डाइग्नोसिस भनेको रोगको आधा उपचार हो । अर्थात समस्या पहिचान गर्नु भनेकै समाधानको आधा प्रक्रिया हो । तसर्थ समस्या सुनाउन कन्जुस्याइ नगर्नुहोला ।’ पोखरेलले भने ।

एमालेको वडा समितिले राखेका कार्यक्रममा सहभागि भएर जहिले पनि समस्या सुन्न र त्यसको समाधान गर्न तयार रहेको उनको भनाई छ । समाजमा राम्रा र नराम्रा सबैखाले मान्छे हुने र त्यही समाजमा राम्रा र नराम्रा पक्ष पनि हुने भएकाले नराम्रा पक्षलाई हटाउँदै लैजाने विषयमा आफूहरु प्रतिबद्ध रहेको उनले बताए । पोखरेलले आफू निर्वाचित भएपछि गर्ने दुई वटा मुख्य कामको बारेमा पनि मतदातालाई स्पष्ट पारेका छन् ।

पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् । राष्ट्रिय हितको रक्षा, सुशासन र आर्थिक विकासका लागि एमालेको सरकारको विकल्प नभएको उनको दाबी छ । एमालेको विचार नै देशका लागि आवश्यक रहेकाले सूर्य चिन्हमा मतदान गर्न उनले आग्रह गरे ।

एमालेका वरिष्ठ उपाध्यक्ष र पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले आफ्नो राजनीतिक उचाईका कारण पनि प्रतिद्धन्द्धीले अनावश्यक आरोप प्रत्यारोप लगाउन सक्ने भएकाले भ्रममा नपर्न समेत मतदातालाई आग्रह गरे । ‘मेरो उचाई हेरेर ममाथि ढुंगा प्रहार गर्न सक्छन् । त्यस्तो प्रहारको सामना गर्न सधैँ तयार छु । बरु मर्न तयार छु तर जनताको शीर झुक्ने कुनै काम गर्दिन ।’ उनले भने ।

पोखरेलले प्रतिनिधिसभाको निर्वाचनका लागि एमालेले सबै क्षेत्रमा उम्मेदवार उठाएको तर कांग्रेसले ८४, माओवादीले ४३ र नेकपा एसले २० क्षेत्रमा मात्रै उम्मेदवार बनाएर पनि बहुमतको सरकार बनाउँछौँ भनेर भ्रम फैल्याएको बताए । बरु एमालेले नै बहुमत ल्याएर सरकार बनाउन सक्ने गरी उम्मेदवार खडा गरेको उनले स्पष्ट पारे । स्थानीय तहको निर्वाचनको मत परिणामका आधारमा लोकप्रिय मत सबैभन्दा धेरै एमालेकै रहेकाले पनि एमाले पहिलो ठूलो दल बन्नेमा कुनै शंका नरहेको उनले बताए ।

पोखरेलले केपी ओली प्रधानमन्त्री हुँदा नेपालको सम्पूर्ण भूभाग समेटिएको चुच्चे नक्सा सार्वजनिक गरेको उल्लेख गर्दै राष्ट्रहितको काम गर्न र परिआए भारतसँग आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने क्षमता ओलीमा मात्रै भएको बताए । ओली प्रधानमन्त्री हुँदा नै कोशी राजमार्ग, कर्णाली राजमार्ग, एकै दिन ३ सय ९६ अस्पतालको शिलान्यास, स्वास्थ्य बीमाको काम, सामाजिक सुरक्षा कोषको काम लगायतका दीर्घकालिन महत्वका कामको सुरुवात भएको पोखरेलले स्मरण गराए ।

पोखरेलसँगै मतदातासँग भेटघाटमा सहभागि काठमाण्डौ क्षेत्र नम्बर ५ क का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले आफू वडा समितिले राखेको हरेक कार्यक्रममा सहभागि भएर जनताको गुनासो सम्बोधन गर्दै आएको बताए । वडा नम्बर २ मा टुकुचा खोलाले दुःख दिँदै आएकोमा अघिल्लो कार्यकालमा उक्त समस्या समाधान गरेको बताए । समस्या समाधानका लागि वरिष्ठ उपाध्यक्ष पोखरेल रक्षामन्त्री हुँदा नेपाली सेनाको सहायतामा टुकुचा खोलाको बाँध भत्काएर डुबानको समस्या आधा समाधान गर्न सफल भएको सिलवालले जानकारी दिए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend