काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने विरुद्ध जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले जिल्ला अदालतमा सोमबार अभियोग पत्र दर्ता गराएको जिल्ला सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए । उनका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र पेश गरिएको हो ।
सरकारी वकिलको कार्यालयका अनुसार लामिछाने विरुद्ध प्रहरीले अनुसन्धान सकेर मुलुकी अपराध संहिताको जबरजस्ती करणी गर्न नहुने कसूरमा सजायको माग दाबीसहित अनुसन्धान प्रतिवेदन ल्याएको थियो । संहिताको दफा २१९ को उपदफा ३ को घ मा पीडित १६ वर्ष वा त्यसभन्दा बढी १८ वर्षभन्दा कम उमरको भए १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था छ । सोह िअनुसार अधिकतम सजायको मागदाबी अभियोग पत्रमा गरिएको नेउपानेले बताए ।
लामिछाने विरुद्ध प्रहरी वृत्त, गौशालामा २१ भदौमा १७ वर्षकी किशोरीले जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरी परेको दुईदिनपछि जिल्ला अदालत, काठमाडौंले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
पक्राउ पूर्जी जारी भएपछि नेपाल क्रिकेट संघ क्यानले उनलाई राष्ट्रिय टोलीको कप्तानबाट निलम्बन गरेको थियो । निलम्बित भएपछि उनले नेपालको कानून मान्ने बताउँदै स्ट्याटस लेखेका थिए । तर क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्ने क्रममा जमैका रहेका उनी एक महिनासम्म सम्पर्कविहीन रहे । इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएपछि उनी २० असोजमा नेपाल आए र विमानस्थलबाटै पक्राउ परे ।