
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुहजिल्ला डडेल्धुरामा ४ दिन चुनावी कार्यक्रममा सहभागी हुने भएका छन् । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत रहेका प्रधानमन्त्री देउवाले कात्तिक १७ देखि २० गतेसम्म जिल्लाका सात पालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्ने भएका हुन् ।
नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा चार दिने कार्यक्रम भ्याएर २१ गते काठमाडौं फर्किने जानकारी दिए । उनका अनुसार देउवाले कात्तिक १७ गते डडेल्धुराको सदरमुकामस्थित अमरगढी बसपार्कमा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै, १८ गते नवदुर्गा र गन्यापधुरा गाउँपालिका, १९ गते अजयमेरु र भागेश्वर गाउँपालिकाको चुनावीसभालाई देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । कात्तिक २० गते देउवाले आलिताल गाउँपालिका र परशुराम नगरपालिको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। डडेल्धुरामा सत्ता गठबन्धनबाट संघमा देउवा र प्रदेश १ मा माओवादीका खगराज भट्ट र २ मा कांग्रेसका गोविन्द बोहरा चुनावी मैदानमा छन् ।
असोज २३ गते उम्मेदवारी दर्तासमेत वारेसनामा मार्फत गरेका देउवा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि पहिलो पटक डडेल्धुरा जान लागेका छन् । कांग्रेस जिल्ला सभापति साउदका अनुसार डडेल्धुरामा देउवा विनानै सत्ता गठबन्धनले चुनावी अभियान अगाडि बढाइरहेको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend