आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

नचाहँदा नचाहँदै पनि प्रधानमन्त्री बन्नु पर्‍यो : देउवा

नचाहँदा नचाहँदै पनि प्रधानमन्त्री बन्नु पर्‍यो : देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले नचाहँदा नचाँदै पनि प्रधानमन्त्री बन्नुपरेको बताएका छन् । आजै गृहजिल्ला डडेल्धुरा आएका प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पारे ।

प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै केही समय रहने बताए । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको स्मरण गर्दै उनले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताए ।

ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेतताको सहयोगमा आफूले नेतृत्व लिएको उनको भनाइ थियो ।

जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँच दलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गरे । उनले भने- ‘त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ ।’

उनले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउँदै उनले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिए । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उनले स्पष्ट गरे ।

प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गरे । स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उनको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न सङ्कोच नगर्नसमेत जिल्लावासीलाई अनुरोध गरे । आफूलगायत गठबन्धनका नेताले एक–अर्काको पार्टीलाई पटक–पटक भोट हालेको जनाउँदै जिल्लावासीलाई पनि कुनै द्विविधामा नरही गठबन्धनबाट उम्मेदवार बनेका नेतालाई जिताउन अपिलसमेत गरे ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend