logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • लमजुङः निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा र पूर्वमन्त्री देवप्रसादबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ चुनावी लेखाजोखा

    लमजुङः निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा र पूर्वमन्त्री देवप्रसादबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ चुनावी लेखाजोखा

    2.3K
    Shares
    लमजुङः निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा र पूर्वमन्त्री देवप्रसादबीच मुख्य प्रतिस्पर्धा, यस्तो छ चुनावी लेखाजोखा

    लमजुङ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सङ्घका पूर्वमन्त्री देवप्रसाद गुरुङबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । लमजुङ प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा (एमाले) का तर्फबाट पृथ्वीसुब्बा र गठबन्धनका साझा उम्मदेवार नेकपा (माओवादी केन्द्र) का देवप्रसादबीच मुख्य प्रतिस्पर्धा हुन लागेको हो ।

    एमालेका उपमहासचिवसमेत रहेका पृथ्वीसुब्बा र माओवादी केन्द्रका महासचिव रहेका देवप्रसादबीच अर्थात् यी दुई कम्युनिष्ट नेताबीच पहिलोपटक मुख्य प्रतिस्पर्धा हुने भएको हो । यसअघिसँगै मिलेर चुनावमा होमिएका दुई नेताबीच नै यस चुनावमा मुख्य प्रतिस्पर्धा हुन लागेपछि चुनाव थप रोचक बन्दै गएको छ ।

    तत्कालीन गिलुङ गाविस–८, टक्सार हाल क्व्होलासोथर गाउँपालिका–९ घर रहेको एमालेका उम्मेदवार गुरुङ यसअघि लमजुङबाट प्रदेशसभामा ‘२’ बाट आठ हजार चार सय एक मतान्तरले विजयी भएका थिए । गुरुङले २३ हजार एक सय ८८ मत प्राप्त गर्दा प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार कृष्ण कोइरालाले १५ हजार एक सय २२ मत प्राप्त गरेका थिए । यसअघिको निर्वाचनमा लमजुङ प्रदेश (२) मा ६० हजार पाँच सय ५२ मतदाता रहेकामा ४० हजार तीन सय २५ मत खसेको थियो । नेता गुरुङले विसंं २०४८ यताका प्रत्येक संसदीय निर्वाचनमा सहभागी जनाउँदै आएका छन् ।

    उनी पहिलो संविधानसभा र विसं २०७४ को प्रदेशसभा ‘२’ बाट गरी दुईपटक निर्वाचित भएका छन् । उनको यो पटक सातौँ यात्रा हो । उनी पर्यटनमन्त्री तथा गण्डकी प्रदेशको मुख्यमन्त्री बनिसकेका छन् । विसं २०४८, विसं २०५१, विसं २०५६ र विसंं २०७० को निर्वाचनमा उनी पराजित भएका थिए । विसं २०६४ मा विजयी हुँदा त्यतिबेला संस्कृति तथा पर्यटनमन्त्री भएका थिए ।

    हुन त गुरुङ विसं २०४३ मा समेत पञ्चायती व्यवस्थामा पनि तत्कालीन नेकपा मालेका तर्फबाट जनपक्षीय उम्मेदवारका रूपमा निर्वाचनमा होमिएका थिए । सो बेलामा उनी कारागारबाटै उम्मेदवार बनेका थिए ।

    त्यस्तै तत्कालीन मनाङको नासों गाउँपालिका–४, ओडारगाउँ घर भई पछिल्लो समय लमजुङ केन्द्रित राजनीति गर्दै आएका देवप्रसाद यसअघि भारी मतले विजयी भएका थिए । उनले लमजुङमा वाम गठबन्धनबाट विसं २०७४ मा प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका दिलबहादुर घर्तीलाई हराएका थिए । सो बेलामा प्रतिनिधिसभामा कूल ७७ हजार एक सय ६५ मत खसेकामा ३९ हजार चार सय ६८ मत प्राप्त गर्दै विजयी भएका थिइ भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार दिलबहादुर घर्तीले ३१ हजार ६७ मत प्राप्त गरेका थिए । गुरुङले आठ हजार चार सय एक मतको फराकिलो अन्तरले जित हासिल गरेका थिए ।

    लमजुङ क्षेत्र नं १ (हाल प्रदेश १) बाट विसं २०४८ को निर्वाचनमा ‘एक वाम–एक ठाम’ नारा लिएर तत्कालीन जनमोर्चाबाट चुनाव उठेका उनी त्यतिबेला कांग्रेसका रामचन्द्र अधिकारीसँग पराजित भएका थिए । तत्कालीन माओवादीका तर्फबाट विसं २०६४ को संविधानसभा निर्वाचनमा मनाङ र कास्की १ बाट चुनाव उठेर दुवै क्षेत्रबाट जित्न सफल भए । यसअघि उनले मोहन वैद्य किरणलाई साथ दिँदै आएका थिए । विसं २०६९ मा वैद्यतिर लागेर चुनाव बहिष्कारमा गएका उनी पुनः माओवादी केन्द्रमा फर्किएका थिए । विधायिका संसद् र संविधानसभाको पहिलो निर्वाचनबाट उनी दुईपटक मन्त्री भइसकेका छन् ।

    यसअघिको निर्वाचनमा माओवादी केन्द्र र एमालेबीच चुनावी तालमेल रहेको थियो । तर यसपटक भने माओवादी केन्द्रका उम्मेदवार गुरुङ भने नेपाली कांग्रेससहितको पाँच गठबन्धनबाट उम्मेदवार रहेका छन् ।

    यता जिल्लामा एमाले एक्लै गठबन्धनलगायतका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न लागेको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको यहाँ यसअघि प्रतिनिधिसभामा माओवादी नेता गुरुङ र प्रदेश (२) मा एमालेका नेता गुरुङसहित प्रदेश (१) मा एमालेकै धनञ्जय दवाडी विजयी भएका थिए ।

    यसअघिको निर्वाचनमा लमजुङमा कूल एक लाख १५ हजार चार सय ४९ मत रहेकामा ७७ हजार एक सय ६५ हजार मत खसेको थियो । त्यसमा दुई हजार पाँच सय ८५ मत बदर भएको थियो ।

    त्यस्तै प्रदेश (१) मा कूल ५४ हजार आठ सय ९७ मत रहेकामा ३६ हजार आठ सय ७१ मत खसेको थियो । त्यसमा एक हजार चार सय ७४ मत बदर भएको थियो ।

    त्यस्तै, प्रदेश (२) मा ६० हजार पाँच सय ५२ मतदाता रहेकामा ४० हजार तीन सय २५ मत खसेको थियो । त्यसमा आठ सय ७८ मत बदर भएको छ । जिल्लामा कूल चार हजार नौ सय ३७ मत बदर भएको थियो ।

    हाल एक लाख ३३ हजार पाँच सय ५९ मतदाता रहेका छन् । प्रदेश ९१० मा ६३ हजार पाँच सय ७५ र प्रदेश ९२० मा ६९ हजार नौ सय ८४ जना मतदाता रहेका छन् । चार नगरपालिका र चार गाउँपालिका रहेको यस जिल्लामा यसअघिको स्थानीय तह निर्वाचनमा पालिका प्रमुखहरूले पाएको मतका आधारमा एक हजार छ सय ५४ मतले गठबन्धनभन्दा एमाले अघि रहेको छ । गत स्थानीय तह निर्वाचनमा एक लाख ३१ हजार चार सय ९४ मतदाता रहेका थिए ।

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनीहरूसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बालचन्द्र श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका टकबहादुर गुरुङ, आमूल परिवर्तन मसिहा पार्टी नेपालका नन्दजङ्ग गुरुङ, नेपाल मजदुर किसान पार्टीका राजेन्द्रप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका विकास गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसी र स्वतन्त्र उम्मेदवार चन्दन बस्यालले प्रतिस्पर्धा गर्दै छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend