आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रदेशमा खाता खोल्ने सांसद रामेश्वर श्रेष्ठलाई अध्यक्ष ओलीले खुवाए मिठाइ

प्रदेशमा खाता खोल्ने सांसद रामेश्वर श्रेष्ठलाई अध्यक्ष ओलीले खुवाए मिठाइ

ललितपुर– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितपुर क्षेत्र नम्बर २ (१)बाट निर्वाचित सांसद रामेश्वर श्रेष्ठलाई निवासमै बोलाएर बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष ओलीले बालकोटस्थित निवासमा बोलाएर श्रेष्ठलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । ‘ललितपुर क्षेत्र नम्बर २ मा तपाईंहरुले राम्रो नतिजा ल्याउनुभएको छ,’ अध्यक्ष ओलीले श्रेष्ठलाई भने, ‘अब असल जनप्रतिनिधि भएर सेवा गर्नुहोला ।’

अध्यक्ष ओलीले नगर प्रमुखको जस्तो कार्यकारी अधिकार नभए पनि नीति निर्माण र जनताका आवाज संसदमा उठाउन प्रेरित गरे । श्रेष्ठ महालक्ष्मी नगरपालिकाका पूर्वनगर प्रमुख हुन् । श्रेष्ठको बिरासत जोगाउँदै एमालेले दोस्रो कार्यकाल पनि नगरपालिकामा विजय हासिल गरेको छ ।

श्रेष्ठ नगर प्रमुख भएपछिको पहिलो नगर सभाको उदघाटन अध्यक्ष ओलीले नै गरेका थिए ।

श्रेष्ठ नगर प्रमुख हुँदा सुशासन र पारदर्शिताका क्षेत्रसँगै सेवा र विकासमा राम्रो काम गरेको अध्यक्ष ओलीको भनाइ थियो ।

श्रेष्ठले प्रदेश सभा सदस्यमा उम्मेदवार दिने अवसर दिएकोमा पार्टी अध्यक्षलाई धन्यवाद दिए । उनले आफ्नो पदीय जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने विश्वास दिलाए ।

श्रेष्ठले प्रदेशमा नेकपा एमालेको तर्फबाट पहिलो खाता खोलेका थिए । राप्रपाका धनराम केसीलाई १४४७ मतले हराउँदै उनी बागमती प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । उनी ८ हजार २९८ मतका साथ विजयी भए भए भने राप्रपाका केसी ६ हजार ८५१ मतका साथ पराजित भए । गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार रिसा श्रेष्ठ तेस्रो भइन् ।

श्रेष्ठले दिए मतदातालाई धन्यवाद

यसैबीच ललितपुर क्षेत्र नम्बर २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि श्रेष्ठले मतदातालाई धन्यवाद दिएका छन् ।

श्रेष्ठले एक अपिल जारी गर्दै मतदाताले विश्वासका साथ विकास, समृद्धि र जनताको सेवा गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिएका छन् । उनले निर्वाचित भएपछि कुनै दल वा क्षेत्रका आधारमा फरक व्यवहार नगर्ने प्रतिबद्धता जाहेर गरेका छन् । ‘मसँगै प्रतिस्पर्धामा रहनुभएका साथीहरुले प्राप्त गर्नुभएको मतको कदर गर्नु मेरो कर्तव्य हुनेछ,’ अपिलमा भनिएको छ, ‘अतः प्रतिस्पर्धामा रहनुभएका उम्मेदवार साथीहरु, समर्थक र शुभचिन्तकहरुलाई पनि विकास र समृद्धिका लागि हातेमालो गरेर अगाडि बढ्न अपिल गर्दछु ।’

श्रेष्ठले आफ्नो विजय पाँच वर्ष नगर प्रमुख हुँदा इमान्दारितापूर्वक काम गरेको मूल्यांकनको रुपमा लिएको बताएका छन् । ‘बाँकी दिनहरुमा पनि जनताको मतलाई दुरुपयोग गर्ने, निजी स्वार्थमा प्रयोग गर्ने छैन भन्ने विश्वास दिलाउन चाहन्छु । मलाई मतदान गर्नुहुने मतदाताहरुको शीर उँचो बनाउने गरी काम गर्नेछु,’ उनले भनेका छन् ।

श्रेष्ठ शुभेच्छुक, समर्थकहरुलाई संयम र शालिनतासहित विजययात्रा गर्न र कुनै दल वा प्रतिस्पर्धीहरुको आत्मसम्मानमा चोट नपुर्‍याउन अपिल गरेका छन् ।

नवनिर्वाचित प्रदेश सांसद श्रेष्ठले निर्वाचनलाई सफल बनाउनुहुने निर्वाचन आयोग, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पार्टी पंति, शुभेच्छुक, समर्थक, विभिन्न संघ संस्था र सञ्चारकर्मीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend