काठमाडौं । प्रतिनिधिसभातर्फ लुम्बिनी प्रदेशका २६ वटा निर्वाचन क्षेत्रमा सबैभन्दा बढी मतान्तर विजयी हुनेमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन परेका छन् । माओवादी केन्द्रका उपमहासचिव समेत रहेका पुन रोल्पाबाट २५ हजार २२९ मतान्तरले विजयी भएका हुन् ।
पुनले कुल ४१ हजार ७१४ मत प्राप्त गरेका थिए भने उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण मगरले १६ हजार ४८५ मत प्राप्त गरेका थिए । यो मतान्तर लुम्बिनी प्रदेशभरिकै धेरै फराकिलो मतान्तर हो ।
त्यसैगरी कपिलवस्तुबाट एमालेका बलराम अधिकारी र पश्चिम नवलपरासीका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ध्रुबबहादुर प्रधानले पनि भारी मतान्तरले निर्वाचन जितेका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ मा एमालेका अधिकारी ३४ हजार ६७५ मतका साथ विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल बलदेवले १८ हजार ९८३ मत प्राप्त गरे । यी दुई प्रतिस्पर्धीबीचको मतान्तर १५ हजार ६९२ रहेको छ ।
त्यस्तै पश्चिम नवलपरासीको क्षेत्र नं.२ मा राप्रपाका ध्रुवबहादुर प्रधान ३४ हजार ७६४ मत ल्याएर विजयी हुँदा उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका देवेन्द्रराज कँडेलको १९ हजार ५९४ मत प्राप्त गरेका थिए । यी दुईबीचको मतान्तर १५ हजार १७० रहेको छ ।