logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, हवाईसेवा ठप्प

    कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, हवाईसेवा ठप्प

    3.8K
    Shares
    कर्णालीका हिमाली जिल्लामा भारी हिमपात, हवाईसेवा ठप्प

    जाजरकोट । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै जाजरकोटको उत्तरी क्षेत्र, रुकुमपश्चिमको उत्तरी क्षेत्रमा समेत हिमपात भएको छ । लामो समयदेखि काला देखिएका डाँडाकाँडा हिउँले सेताम्य भएका छन् ।

    डोल्पाको जुफाल, हुम्ला सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हिउँ जमेका कारण हवाईसेवा दुई दिनदेखि ठप्प छ । लामो समयदेखि पानी नपरेर आकाशे पानीको भरमा लगाएको बालीनालीमा भने राहत पुगेको छ । हिमाली क्षेत्रमा भारी हिमपात हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या परेको छ ।

    चिसोका कारण जनजीवन मुस्किल हुँदै गएको छार्काताङसुङका निमा गुरुङले बताए । जाजरकोट, रुकुमपश्चिम, सल्यान, सुर्खेत र दैलेखमा परेको पानीका कारण यस क्षेत्रमा लगाएको गहुँबालीलगायत बेमौसमी तरकारी बालीमा राहत पुगेको छ ।

    चिसोका कारण विद्यालयसमेत बन्द छन् । अन्य ठाउँमा वैशाखदेखि सुरु हुने नयाँ शैक्षिकसत्र हिमाली जिल्लामा भने फागुनदेखि सुरु भएर पुसमा बिदा हुने गर्दछ । यातायातको पहुँचदेखि विद्युत् सेवाको पहुँच नभएका हुम्ला, मुगु र डोल्पामा हिमपातले यहाँ सञ्चार सेवासमेत बिच्छेद भएको छ । सौर्य ऊर्जाबाट सञ्चालन हुने यहाँका फोन सेवा लगातार तीन दिनदेखि घाम नलाग्दा अवरुद्ध भएको छ।

    सदरमुकाममा रहेका टावर सञ्चालनमा रहे पनि गाउँमा रहेका सबै टावर बन्द भएका छन् । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा यातायात सेवा प्रभावित भएको छ । हुम्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कसमेत विच्छेद भएको छ । कर्णाली राजमार्गअन्तर्गत जुम्लाबाट मुगुसम्म सञ्चालन हुने यातायात सेवासमेत प्रभावित भएको छ । रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend