काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले साहित्य र संस्कृतिले परिवर्तनको अग्रपङ्क्तिको प्रतिनिधित्व गर्ने बताएका छन् ।
एकीकृत समाजवादी निकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ (समाजवादी)को चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सङ्गीत र साहित्य क्षेत्र नागरिकमा उत्प्रेरणा र उत्साह प्रदान गर्न केन्द्रित हुनुपर्ने बताए ।
कला, साहित्य र सङ्गीतले समाज रुपान्तरणमा सशक्त भूमिका निर्वाह गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले सामाजिक जीवनका यथार्थपरक घटनालाई बिम्ब बनाएर स्रष्टाले विकृतिविरुद्ध सिर्जना गर्न सकेमा समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
साहित्यले समाजका विकृति–विसङ्गतिको उजागर गर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनता र देशका पिरमर्कासँग जोडिएर अगाडि बढ्नुपर्ने बताए । उनले सकारात्मक संस्कार संस्कृतिको विकास गर्न, आशावादी र आत्मविश्वास जगाउन साहित्यिक क्षेत्र क्रियाशील हुनुपर्ने सुझाव दिए।
आलोकनगरस्थित पार्टी कार्यालयमा तीन दिनदेखि चलिरहेको बैठकमा संस्कृतिकर्मी, लेखक, कलाकारका सेवासुविधाका साथै अधिकारको संरक्षणका लागि आवश्यक नीतिगत विषयमा छलफल भएको थियो ।