काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले बैंक तथा वित्तिय संस्थाहरुलाई ‘शत्रु’को संज्ञा दिएका छन् । आईतबार काठमाडौंको माईतीघरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बैंक तथा वित्तिय संस्थाहरुले साथ दिने भन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्ति जनाए ।
सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तिय संस्थाहरुको विरोधमा आन्दोलनको सुरुवात गर्नु परेको उनले जिकीर गरे । प्रसाईले १७ लाख परिवारको घर बैंक तथा वित्तिय संस्थाहरुले लिलामी गर्ने सूचना आफूले पाएको दावी गरे।
उनले भने, ‘बैंक, लघुवित्त, सहकारीहरुले साथ दिने होइन, सत्रुको रुपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरुले पुर्याए । त्यसो भएपछि आफूहरुले आन्दोलन नै सुरु गर्नु पर्यो ।’
प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाअभियान संचालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो)बाट आन्दोलनको कार्यक्रम सुरु गरेका छन् ।
त्यसक्रममा उनका समर्थकहरुले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकीर गर्दै प्रर्दशन गरेका गरिरहेका छन् । गणतन्त्रमा नेता धनि हुने, जनता बैंकहरुको महंगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकोले आफूहरुले विरोध गर्नु परेको प्रसाईको भनाई थियो ।