मंसिर १४ काठमाडौं लमजुङमा मतदान केन्द्र नजिकै बम बिस्फोट भएको खबर प्राप्त भएको छ । सुन्दरबजार नगरपालिका– २ को महेन्द्र मन्दिर मावि मतदान केन्द्र नजिकै टाइम बम बिस्फोट भएको बताइएको छ।
मतदातालाई तर्साउने हिसावले वम विष्फोट गरिएको आंशका गरिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार बम विष्फोट भए पनि कुनै क्षति भने भएको छैन । बम बिहान करिब १० बजेको समयमा बिस्फोट भएको लमजुङ प्रहरीले जनाएको छ। मतदान क्षेत्रमा सुरक्षा स्थिति चुस्त बनाउन थप सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सुन्दरबजार नगरपालिका– २ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भइरहेको हो । उक्त उपनिर्वाचनमा नेकपा, नेपाली कांग्रेस, राप्रपा, मङगोलसेन अर्गनाइजेसन र एक स्वतन्त्र उमेद्वार चुनावी मैदानमा रहेका छन् ।
उता कास्की जिल्लाको क्षेत्र नं. २ का तीन स्थानमा शनिबार बिहानै बम विस्फोट भएको छ। पोखरा नयाँबजारको नवप्रभात मावि मतदान केन्द्र, पोखरा- ३३ भरतपोखरी र पोखरा-१६ अर्मलामा विस्फोट भएको प्रहरी जनाएको छ।
नवप्रभात स्कुलको कम्पाउन्डभित्रै एक व्यक्ति बम फालेर भागेका थिए। कम्पान्डको पर्खाल बमले भत्काएको छ। तर अरू क्षति भएन। विस्फोटपछि केही समय मतदान प्रभावित भएपनि अहिले मतदान जारी रहेको छ।