logo

२०८१ बैशाख ३१ सोमबार

logo
  • सोमबार, ३१ बैशाख २०८१
  • ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

    ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

    2.6K
    Shares
    ओखलढुङ्गामा यस वर्ष भर्नासँगै पाठ्यपुस्तक

    ओखलढुङ्गा । ओखलढुङ्गाका विद्यार्थीलाई यस वर्ष भर्नासँगै पुस्तक वितरण गरिने भएको छ । विगतका वर्षहरूमा शैक्षिक सत्र सकिँदा पनि पाठ्यपुस्तक आइनपुग्ने जिल्लाका सामुदायिक विद्यालयहरूले यस वर्ष भर्ना अभियानकै क्रममा पुस्तक वितण गर्ने तयारी गरेका हुन् ।

    यस वर्ष शैक्षिक सत्र सुरु हुनुभन्दा अगाडि नै पाठ्यपुस्तक जिल्ला आइपुगेकाले भर्नासँगै पुस्तक वितरण गरिने शिक्षा विकास तथा समन्वय एकाइ ओखलढुङ्गाका प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिए। जिल्लाका सबै आठवटै पालिकामा पाठ्यपुस्तक पुगिसकेको र विद्यालयमार्फत विद्यार्थीलाई वितरण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘विगतका वर्षहरूमा शैक्षिक उपलब्धि मूल्याङ्कन गर्दा पनि पाठ्यपुस्तक समयमा नपाउँदा कमजोर नतिजा आएको भन्ने निष्कर्ष आउँथ्यो । तर यो वर्ष भर्ना गर्न विद्यालय आएका विद्यार्थीले नयाँ कक्षाको पुस्तक लिएर जानेछन्, त्यो तयारी भइसकेको छ ।’

    प्रमुख गजुरेलका अनुसार सबै पालिकामार्फत विद्यालयमा पुस्तक पठाइसकिएको छ । पाठ्यपुस्तक नआएको वा अपुग भए जानकारी गराउन उनले अपिल गरेका छन् । विगतका वर्षहरूमा शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि पाठ्यपुस्तक नआउँदा पठनपाठनमा समस्या हुने गरेको थियो । यस वर्ष समयमै पुस्तक पाउने भएपछि विद्यार्थी खुसी भएको कटुञ्जे माविको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झनककुमार कार्कीले बताए। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा यसले टेवा पुग्ने उनको भनाइ छ ।

    जिल्लाका आठवटै पालिकामा रहेका सबै विद्यालयमा वैशाख ५ गते अगाडि नै पुस्तक पु¥याउने र विद्यार्थीलाई वैशाख ५ मा नै वितरण गर्ने तयारी भइरहेको छ । विगतका वर्षहरूमा पुस्तक समयमा नपाउँदा आधा शैक्षिक सत्रसम्म पढाइ सुरु नहुने र अन्ततः कोर्ष नसकिने समस्या थियो । यसका कारण विद्यार्थीमा धेरै समस्या पनि उत्पन्न भएको थियो । यस वर्ष शैक्षिक वर्ष सुरु भएसँगै पुस्तकहरू उपलब्ध हुन थालेपछि यसले विद्यार्थी र उनीहरुका अभिभावकहरू पनि खुसी भएका छन् । उनीहरूले पुस्तकका लागि विगतका वर्षहरूजस्तो समस्या झेल्न यस वर्ष नपर्ने जनाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend