logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता: रिलेमा सुदूरपश्चिमको कीर्तिमान

    १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता: रिलेमा सुदूरपश्चिमको कीर्तिमान

    1.8K
    Shares
    १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता: रिलेमा सुदूरपश्चिमको कीर्तिमान

    सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशले १३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र चार गुणा चार सय मिटर रिलेमा आज जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेल सम्मिलित सुदूरपश्चिमको टोलीले तीन मिनेट ३१ सेकेन्डमा निर्धारित दूरी तय गर्दै नयाँ जुनियर राष्ट्रिय कीर्तिमान रचेको हो ।

    लुम्बिनी प्रदेशका सिमन पाण्डे, लेखनाथ महरा, बेद ओली र श्रवण केवतले २०७६ सालमा स्थापित गरेको तीन मिनेट ३२ दशमलव तीन सेकेन्डको कीर्तिमान सुदूरपश्चिमले भङ्ग गरेको हो । प्रतियोगितामा योसहित जम्मा तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् ।

    अघिल्लो दिन लुम्बिनीका सुदीप थारुले छात्र लङजम्प तथा सुदिप नै सम्मिलित सुजल डाँगी, तुलसीराम थारु र रोशन थारुको टोलीले चार गुणा एक सय मिटर रिलेमा कीर्तिमान बनाएका थिए ।

    छात्रा चार गुणा चार सय मिटर रिलेमा लुम्बिनीले स्वर्ण, सुदूरपश्चिमले रजत तथा कर्णालीले कांस्य पदक जिते । त्यस्तै छात्र दुई सय मिटर दौडमा लुम्बिनीका सुजल डाँगीले स्वर्ण जिते । उनले निर्धारित दूरी २३ सेकेन्डमा पूरा गरे । सुजलले योसहित प्रतियोगितामा एक कीर्तिमानीसहित तीन स्वर्णपदक हात पारे । उनले एक सय मिटर दौडमा पनि स्वर्ण जितेका थिए ।

    यसैगरी तीन हजार मिटर दौडमा सुदूरपश्चिमका अमित आउजी पहिलो भए । उनले निर्धारित दूरी तय गर्न नौ मिनेट २८ दशमलव एक सेकेन्ड समय खर्चे । ट्रिपलजम्पमा कोशीका राजीव ढुंगाना (१३ दशमलव ५० मिटर) तथा सटपुटमा कर्णालीका धीरेन्द्र विक (१२ दशमलव शुन्य नौ मिटर) ले शीर्ष स्थान हात पारे ।

    छात्रा दुई सय मिटर दौडमा लुम्बिनीकी रेसु चौधरी २८ सेकेन्ड समयसाथ पहिलो स्थानमा रहिन । रेसुले ट्रिपलजम्पमा पनि (१० दशमलव १४ मिटर) स्वर्ण जितिन । रेसुले प्रतियोगितामा तीन व्यक्तिगतसहित चार स्वर्ण चुमिन् । रेसुले एक सय मिटर दौड र चार गुणा एक सय मिटर रिलेमा पनि स्वर्ण जितेकी थिइन् ।

    तीन हजार मिटर दौडमा लुम्बिनीकी मोतीकला डाँगी दूरी ११ मिनेट २४ दशमलव पाँच सेकेन्डमा पूरा गर्दै पहिलो भइन् । सटपुटमा बागमतीकी अप्सरा श्रेष्ठ (आठ दशमलव ६२ मिटर) ले स्वर्ण हात पारिन् ।

    एथलेटिक्समा लुम्बिनीको वर्चस्व रह्यो । जम्मा २६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा लुम्बिनीले १६ स्वर्णपदकमा कब्जा गर्‍यो । कर्णालीले तीन, बागमती, सुदूरपश्चिम र गण्डकीले समान दुई/दुई तथा कोशीले एक स्वर्ण जिते ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend