आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

कांग्रेस सभापति शेरबहादुर देउवाले भने– फेरि सभापति बन्दिनँ, नेतृत्व अब युवामा

कांग्रेस सभापति शेरबहादुर देउवाले भने– फेरि सभापति बन्दिनँ, नेतृत्व अब युवामा

काठमाडाैं । कांग्रेसमा नेतृत्वको कार्यशैलीमाथि असन्तुष्टि बढिरहेका वेला सभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबाट पार्टीमा नेतृत्व हस्तान्तरण हुने बताएका छन् । आफूविरुद्ध पार्टीमा आवाज बढ्दै गए पनि मौनता साँध्दै आएका उनले शनिबार फेरि सभापतिमा आफ्नो दाबी नरहने बताए । शनिबार कांग्रेस ललितपुरको जिल्ला सम्मेलनमा उनले आफ्नो विरोध गर्दैमा पार्टी रूपान्तरण नहुने भन्दै अब कांग्रेसको नेतृत्व युवा नेताले गर्ने उनले स्पष्ट पारे ।

सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्ट रहँदै आएका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आवश्यकता रहेको बताउँदै आएका छन् । यही सेराफेरोमा आएको देउवाको अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।

देउवाले महामन्त्रीद्वय थापा र शर्माप्रति संकेत गर्दै आफ्नो नेतृत्वमा कांग्रेस ठूलो पार्टी बनेको दाबी गरे । उनले विरोध गरेर मात्रै पार्टी नबन्ने जवाफ फर्काए । उनले महामन्त्रीद्वयलाई गाली गर्न छाडेर काम गर्न पनि आग्रह गरे । ‘तीनै तहको निर्वाचनमा कांग्रेस ठूलो पार्टी बनेको छ । नेविसंघ स्ववियु निर्वाचनमा पहिलो बनेको छ । अब यसलाई अगाडि बढाउनुछ । अझै बलियो बनाउनुछ । पार्टीमा अब तपाईंहरू हुने हो, मेरो त के छ र ? काम गर्नुस्, पार्टी बलियो बनाउनुस । काम गर्नुपर्ने बेला एकअर्कालाई विरोध गरेर पार्टी बन्दैन,’ उनले भने, ‘नेतृत्वलाई गाली गरेर केही हुनेवाला छैन । पार्टी बनाउन जनतामा जानुपर्छ ।’

देउवाले पार्टीको तल्लो कमिटीसम्म गएर नेतृत्वलाई गाली गर्दा पार्टी अप्ठ्यारोमा पर्ने दाबी गरे । ‘अहिलेको वेला पार्टीलाई मजबुत बनाउने हो । सबैभन्दा ठूलो पार्टी बनाइहालेँ । अधिकांश क्याम्पसमा हामीले जितेकै छौँ । भोलिका दिनमा पार्टीलाई अझै बलियो बनाउनुछ । मैले त सहयोग गर्ने हो । म पार्टी सभापति हुने होइन । अहिले सबै एक भएर गएमा हाम्रो पार्टी बलियो हुन्छ,’ देउवाले भने ।

१४औँ महाधिवेशनपछि देउवाले पार्टीको भावी नेतृत्वबारे औपचारिक मुख खोलेका हुन् । पछिल्लो समय सभापति देउवाको कार्यशैलीको विषयमा महामन्त्री थापा आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् । थापाले सभापतिले हरेक महत्वपूर्ण निर्णयमा एकाधिकार हुने गरेको र अब सहन नसकिने बताउँदै आएका छन् । महामन्त्री शर्मा पनि सभापतिको कार्यशैलीप्रति असन्तुष्ट छन् र महामन्त्री थापासँगै निर्णायक संघर्ष गर्नुपर्ने पक्षमा । शनिबार एउटै मञ्चमा रहेका महामन्त्री शर्मातर्फ संकेत गर्दै देउवाले आफ्नो विरोध गरेर मात्रै पार्टी नबन्ने जवाफ फर्काएका हुन् ।

महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि दबाब बढाउने संकेत गर्दै आएका छन् । यसबारे आन्तरिक गृहकार्यसमेत भइरहेको निकट नेताहरू बताउँछन् । महामन्त्री थापाले सभापति पार्टीमा एकाधिकारविरुद्ध अभियानमा लागेको आरोप लगाउँदै आएका छन् । आजकाे नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend