काठमाडौं । सरोकारवालाहरुले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि काठमाडौमा बसोवास गर्दै आएकाहरुलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाव दिएका छन् ।
शहरी विकास मन्त्रालयमा मंगलवार भएको काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धी कार्ययोजना विषयक छलफलमा सरोकारवालाहरुले फोहोर घरघरमै छुट्याउनुपर्ने भन्दै नागरिकलाई फोहोरको उचित व्यवस्थापनबारे प्रशिक्षण दिन सुझाएका हुन् ।
प्रतिनिधि सभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले भोगिरहेका समस्या र समाधानका उपायबारे शहरी विकासमन्त्रीसँग छलफल भएको बताए ।
बैठकपछि मिडियाकर्मीसँग कुरा गर्दै पाण्डेले फोहोरको उचित व्यवस्थापन नहुँदा प्रभावित क्षेत्र ककनी र धुनीबेंशी गाउँपालिकाका नागरिकले वर्षेनी सास्ती भोग्दै आएको बताए ।
अहिले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड नभई डम्पीङ साइडमा परिणत भएको बताए । उनले स्थायी रुपमा फोहोरको समस्या समाधान हुनुपर्ने धारणा राखे । उनले काठमाडौं उपत्यकाका नागरिकलाई दुई तीन महिनासम्म फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिनुपर्ने बताए । उपत्यकाको फोहोर स्थायी रुपमा समाधान गर्ने उपायको खोजि हुनुपर्ने बताए ।
सांसद पाण्डेले भने, ‘मुख्यतः अल्पकालीन र दीर्घकालीन व्यवस्थाका बारेमा छलफल भयो । हामीले सुझाव दियौं । फोहोरमैला विसर्जन गरेको ठाउँका जनताले के भोगिरहेका छन् ? कति फोहोर छ ? कति अव्यवस्थित छ ? काठमाडौंमा बस्दै आएका ६५ लाख नागरिकले गरेको फोहोर लगेर दुई वटा पालिकामा फ्याँकिदिएर त्यो जनताले भोगिरहेको समस्याका बारेमा भोगिरहेको पीडा त्यहाँका जनप्रतिनिधिमार्फत सबैलाई जानकारी दिने काम भयो । अहिले लैजाने गरेको फोहोर हामीले ल्याण्डफिल्ड साइड भन्छौं, त्यो ल्याण्डफिल्ड साइड होइन डम्पीङ साइड हो । पहिलेदेखि नै सबै फोहोर घ¥यापघुरुप उठाउने फलामका किलादेखि फुटेका सिसासम्म सबै फ्याँकिदिने कार्य भइरहेको छ । यो खालको अव्यवस्था अन्त्य गर्नुप¥यो भनेर सल्लाह दियौं । टेलिभीजनमार्फत शहरका जनतालाई दुई तीन महिना लगाएर फोहोर व्यवस्थापनबारे प्रशिक्षण दिऔं । फोहोर घरघरमै छुट्याऔं । नगरपालीकाले तीन रङका थैलाहरु पठाओस्, एउटा मल बनाउन सकिने कुहिएर जाने फोहोर, अर्को रिसाइकल गर्न सकिने फोहोर र अर्को डम्पिङनै गर्नुपर्ने फोहोर । यी फोहोरहरुलाई त्यसतै रङका गाडीमा लैजाने बन्दोबस्तो गरौं । रिसाइकल हुन सक्ने फोहोरलाई उद्योगका रुपमा विकास गरौं । मल, पेपर, प्लाष्टिक उद्योग हुनसक्छ । डम्पिङ त थोरैमा लगेर फ्याँके पुग्छ, त्यो खालको काम गरौं भनेर हामीले सुझाव दियौं । ढुवानी गर्दा थोत्रा ट्रकमा झोल चुहाउँदै लैजानुपर्छ । काठमाडौंदेखि गन्हाउँदै पुग्छ । त्यहाँपनि झोलको पोखरी छ । स्थायी रुपमा फोहोरको व्यवस्थापन गर्न पनि सल्लाह दियौं ।’
बैठकपछि कुरा गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले फोहोरले शहर प्रदुषण गराएको भन्दै यसको दिगो व्यवस्थापन हुनुपर्ने बताए । फोहोर व्यवस्थापन गर्न बसाईंसराई निरुत्साहीत गर्नुपर्ने सुझाव दिए ।
सुवालले भने, ‘काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा छलफल भयो । काठमाडौं उपत्यकामा ७७ वटै जिल्लामा बस्ने र फोहोर त टनाटन हुने भयो । त्यसैले सरकारको पनि संलग्नता चाहियो । देशको सन्तुलित विकासका लागि फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ । बसाईंसराई बढिरहेको छ । बसाईंसराईलाई निरुत्साहित गर्नुपर्छ । फोहोर सरुवा रोगसँग सम्बन्धित छ । फोहोरमैलाको बन्दोबस्तो गर्नुपर्छ ।’
धादिङस्थित धुनिबेंसी नगरपालिका नगरप्रमुख बालकृष्ण आचार्यले प्रभावितहरुसँग फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने भन्ने दुई वटा विकल्प मात्रै बाँकी रहेको बताए । उनले फोहोरको दीर्घकालीन समाधान भन्दापनि तत्कालीन समाधान खोजिनुपर्ने बताए ।
आचार्यले कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्ने धारणा राखे । उनले वर्षौंदेखि फोहोर व्यवस्थापनबारे छलफल भएपनि समाधान निकाल्न सरकार जिम्मेवार नभएको बताए ।
आचार्यले भने, ‘शहरी विकास मन्त्रीज्युको अध्यक्षतामा एउटा सहजिकरण समिति छ । त्यो क्याबिनेट डिसिजनबाट बनेको समिति हो । दीर्घकालीन योजनाबारे सुझाव लिइएको हो । कार्ययोजना उहाँहरुले प्रश्तुत गर्नुभयो । कार्ययोजनामा दीर्घकालीन सोचका कुराहरु छन् । हाम्रो सुझाव के रह्यो भने दीर्घकालीनले मात्रै पुग्दैन आजको समस्या हल हुनुपर्छ । काठमाडौं महानगरपालीका १ वर्षदेखि सम्पर्कविच्छेद गरेर बस्यो । र, त्यहाँका जनतालाई प्रहरी लगाउने काम भयो । बञ्चरेडाँडा नितान्त धुनिबेंसीको भूभाग हो । तर, फोहोरको उचित व्यवस्थापन हुनै सकेन । फोहोरको लिच्चेडका कारण नागरिकहरु बस्नसक्ने अवस्थामा छैनन् । हाम्रो भनाई के हो भने दीर्घकालीन, मध्यकालीन र अल्पकालीन तीनै खालका कार्ययोजना बन्नुपर्छ । त्यहाँका नागरिक बस्नसक्ने अवस्थामा छैनन् । हाम्रा नागरिकहरु फोहोर सुंगेर मर्ने की गोली खाएर मर्ने दुई वटा विकल्प मात्रै बाँकी छन् । कार्ययोजना त धेरै नै बनिसके । धेरै वटा कार्ययोजना र धेरै छानबिन हामीले हेरिसकेका छौं । कार्ययोजना मात्रै होइन अब कार्यान्वयनमा जानुपर्छ । अहिले खोलामा लिच्चेड बगिरहेको छ । जसले गर्दा किसानले खेतीपाती गर्न पाएका छैनन् । लिच्चेड बग्न नदिने समस्याको समाधान राज्यले तत्काल खोज्नुपर्छ । फोहोर र मान्छे एकै ठाउँमा बस्न सक्दैनन् । त्यहाँ बस्ने नागरिकलाई अन्यत्र व्यवस्थापन गरिदिनुप¥यो ।’
शहरी विकासमन्त्री सीता गुरुङको अध्यक्षतामा भएको छलफलमा फोहोरमैला प्रभावित क्षेत्रका सांसद, काठमाडौं उपत्यकाका सांसद, प्रदेश सभाका सदस्यहरु, ककनी र धुनीबेंसी नगरपालीकाका मेयरको सहभागिता थियो । शहरी विकास मन्त्रालयले फोहोरमैला व्यवस्थापन सम्बन्धी कार्ययोजना बनाएर प्रधानमन्त्री समक्ष पेस गर्ने योजना बनाएको छ ।