काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईमाथि राजधानीको कान्तिपथमा दुर्व्यवहार भएको छ । एक कार्यक्रममा सहभागी हुन होटल एल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा प्रसाई माथि दुर्व्यवहार भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङगेलले सुनौलो नेपाललाई बताए ।
उनले भने, ‘व्यवसायी प्रसाई माथी दुर्व्यवहार भएको छ, दुर्व्यवहार गर्नेको खोजी कार्य गर्दैछौँ, अहिले सम्म कोही पनि पक्राउ परेका छैनन् ।’
एक भिडियोमा प्रसाई माथि कालोमोसो दलिएको देखिएको छ भने शरीरको कपडा पनि च्यातिएको देखिएको छ । धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको संयोजक रहेका प्रसाईले बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिँदै आएका थिए । उनले बैंकको चर्को ब्याजदरको विरोध यसअघि विभिन्न अभियान समेत चलाएका थिए ।