सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

एप्पलले विद्युतीय गाडी परियोजना बन्द गरेको हो ?

एप्पलले विद्युतीय गाडी परियोजना बन्द गरेको हो ?

बीबीसी । काम सुरु गरेको एक दशकपछि अमेरिकी प्रविधि कम्पनी एप्पल इंकले आफ्नो विद्युतीय सवारी साधन सम्बन्धी परियोजना बन्द गरेको छ ।

कम्पनीले सार्वजनिक रूपमा कहिल्यै स्वीकार नगरेको उक्त परियोजनामा करिब २ हजार कर्मचारी संलग्न रहेको मानिएको थियो। यीमध्ये धेरैलाई अब एप्पलको आर्टिफिसल इन्टेलिजन्स (एआई) शाखामा सारिने ब्लूमबर्ग न्यूजले जनाएको छ।

बीबीसीले प्रतिक्रियाका लागि गरेको अनुरोधमा एपलबाट जबाफ प्राप्त भएको छैन।

अहिलेसम्म यस सवारीसाधन परियोजनामा काम गरिरहेको टोली एपलको प्रमुख कार्यकारी अधिकृत टिम कुकको टाइटन परियोजना अन्तर्गत ुविशेष समूहु का रूपमा रहेको मानिन्थ्यो।

यस समूहले अनुसन्धान र विकासमा अर्बौँ डलर खर्च गर्दै गर्दा उक्त आइफोन निर्माता कम्पनीले स्टियरिङ् र पेडल विनाको पूर्णरूपमा स्वचालित हुने गाडीको विकासमा काम गरिरहेको चर्चा फैलिएको थियो। यद्यपि कुनै पनि त्यस्तो सवारी साधनको निर्माण हुन अझै धेरै वर्ष लाग्ने अनुमान गरिएको थियो।

गाडीभन्दा एआईको माग बढी

कम्पनीले विद्युतीय सवारी परियोजनो बन्द गर्ने निर्णय लिएर बुद्धिमानीको र लामो समय प्रतिक्षा गरिएको निर्णय लियो,ू सिलिकन भ्यालीस्थित कन्स्टेलेसन रिसर्च नामक परामर्शदाता संस्थाका प्रमुख कार्यकारी रे वाङले बीबीसीलाई बताए।

अध्ययन अनुसन्धान गर्ने कम्पनी काउन्टरपोइन्टका अनुसार एआईयुक्त उपभोक्ता इलेक्ट्रोनिक्सको बजार तीव्र रूपमा विस्तार भइरहेको बेला एपलले यो निर्णय लिएको छ।

प्रारम्भिक तथ्याङ्कले सन् २०२४ मा १० करोडभन्दा बढी थान एआईयुक्त स्मार्टफोन बिक्रीका लागि लागि पठाइने देखिएको काउन्टरपोइन्टका वरिष्ठ विश्लेषक इभान लामले जानकारी दिए। यो अङ्क २०२७ सम्म ५० करोड माथि पुग्ने उनको संस्थाको अनुमान छ।

एप्पलले विगत लामो समयदेखि आइफोन र कम्प्युटर बाहिरको बजारमा अवसर खोजिरहेको छ। उसको हालै सार्वजनिक गरिएको भिजन प्रो भर्चुअल रियालिटी हेडसेट यसैको प्रयास थियो।

अन्य उत्पादक पनि खुम्चिँदै

हालैका महिनाहरूमा कर्जाको ब्याज उच्च रहेकोले विद्युतीय गाडीको माग सुस्ताउँदै गएको छ। यसले गर्दा बजार झन् प्रतिस्पर्धात्मक बनेको छ र ठूला खेलाडीहरू ग्राहक तान्न तँछाड मछाड गर्दैछन्।

हालै सवारीसाधन उत्पादनको क्षेत्रका ठूला नाम फोर्ड र जनरल मोटर्सले पनि विद्युतीय गाडी उत्पादन गर्ने आफ्ना योजना स्थगित गरेका छन्।

गत साता विद्युतीय ट्रक उत्पादक कम्पनी रिभियनले आफ्नो जनशक्ति १० प्रतिशतले घटाउने घोषणा गरि यस वर्ष आफ्नो उत्पादनमा कुनै वृद्धिको आशा नरहेको जनाएको थियो।

गत जनवरीमा टेस्लाले पनि आफ्नो बिक्री दर २०२४ मा २०२३ भन्दा कमजोर हुने बताएको थियो। विश्वकै दोस्रो धनी खर्बपछि इलोन मस्कको नेतृत्वमा रहेको यस कम्पनीले बिवाईडी जस्ता चिनियाँ प्रतिद्वन्द्वीहरूको सामना गर्न युरोप र चीन लगायतका प्रमुख बजारहरूमा आफ्ना गाडीको मूल्य घटाउँदै लागेको छ।

एप्पल परियोजना बन्द हुन लागेको खबरमा मस्कले पहिले ट्विटर भनिने एक्समा सलाम र चुरोटको इमोजी राखी प्रतिक्रिया जनाएका थिए।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend