logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • साँग्रिलाले १.३० अर्ब लगानीमा चितवनको मेघौलीमा रिसोर्ट बनाउँदै, व्यवस्थापन इन्टरकन्टिनेन्टलले गर्ने

    साँग्रिलाले १.३० अर्ब लगानीमा चितवनको मेघौलीमा रिसोर्ट बनाउँदै, व्यवस्थापन इन्टरकन्टिनेन्टलले गर्ने

    1.2K
    Shares
    साँग्रिलाले १.३० अर्ब लगानीमा चितवनको मेघौलीमा रिसोर्ट बनाउँदै, व्यवस्थापन इन्टरकन्टिनेन्टलले गर्ने

    काठमाडौं । साँग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा लक्जरी रिसोर्ट सञ्चालन गर्ने भएको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण गरिरहेको छ ।

    रिसोर्टको दोस्रो फेज सन् २०२६ डिसेम्बरसम्म सञ्चालनमा ल्याउने योजना छ । रिसोर्टको पहिलो फेज २०२५ को अप्रिलमा ल्याउने योजना रहेको साँग्रिलाले जनाएको छ । रिसोर्ट व्यवस्थापनको जिम्मेवारी इन्टरकन्टिनेन्टल होटल्स ग्रुप (आइएचजी) ले पाएको छ ।

    २०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आइएचजीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ ।

    इन्टरकन्टिनेन्टल होटल्स ग्रुप प्रमुख युरोपेली होटल समूहहरुको होटल व्यवस्थापन सम्झौतामार्फत रिसोर्टलाई साझेदारी गर्न सक्षम पार्दै आइएचजीको ब्रान्ड नाम स्थापित छ । फ्रेंचाइजीले रिसोर्टको व्यवसाय विस्तारमा सहयोग पुर्याउने छ ।

    लस्ट होराइजनको सञ्चालक प्रसिद्धबहादुर पाण्डे रहेका छन् । रिसोर्ट ४० कोठाको हुनेछ । जसमध्ये दुई स्वीट रुम हुने लस्ट होराइजनले जनाएको छ ।

    रिसोर्ट राप्ती खोलाको किनारमा रहेको छ । पहिला ४० कोठा डिजाइन गरिएकोमा यसलाई दोब्बर बनाएर ८० कोठा पुर्याइने भएको छ ।

    लस्ट होराइजनको अनुमानित लागत १ अर्ब २९ करोड ५० लाख रुपैयाँ रहेको छ । जसमध्ये बैंकबाट ९३ करोड ७० लाख रुपैयाँ ऋण र बाँकी संस्थापकहरुको स्वपुँजी लगानी हुने छ ।

    यसअघि रिसोर्ट बनाउन बैंकबाट साढे ४८ करोड रुपैयाँ ऋण लिने योजना भए पनि डिजाइन र स्कोप परिवर्तनका साथै ढिलाइले गर्दा ९३ करोड ७० लाख रुपैयाँ लिनुपर्ने भएको छ ।

    सन् २०२४ जनवरीसम्म होटलको ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । ७२ प्रतिशत बैंकको ऋण र बाँकी २८ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरि लगानी संरचना बनाइएको छ ।

    रिसोर्टको प्रति कोठा लागत बढेर ३ करोड २० लाख रुपैयाँ पुगेको छ । मेघौली चितवन राष्ट्रिय निकुञ्ज नजिक पर्यटकीय क्षेत्रमा बन्दै छ ।

    पोखराको बेगनासमा रिसोर्ट बन्दै

    साँग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाइरहेको छ । ग्रुपले पोखराको बेगनासमा लक्जरी रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।

    ग्रुपले अहिले रिसोर्टको निर्माण गरिरहेको छ । सांग्रिलाले १ अर्ब ४९ करोड ५० लाख रुपैयाँ लगानीमा लस्ट होराइजन प्रालि रिसोर्ट सञ्चानलमा ल्याउन लागेको हो ।

    रिसोर्ट सन् २०२६ डिसेम्बरभित्र सञ्चालनमा ल्याउने तयारी भएको छ । अहिलेसम्म रिसोर्टको ५६ प्रतिशत वित्तीय प्रगति भएको छ । ७३ प्रतिशत बैंकको ऋण र बाँकी २८ प्रतिशत संस्थापकले इक्विटी हुने गरी लगानी संरचना तयार पारिएको छ ।

    प्रतिकोठा लागत बढेर ३ करोड ९० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । होटलमा ४० कोठाहरु बन्ने भएको छ । जसमध्ये दुईटा स्वीट रुम हुने ग्रुपले जानकारी दिएको छ । होटल व्यवस्थापनको जिम्मा आइएचजीले लिएको छ । इन्टरकन्टिनेन्टल रिसोर्ट पोखरा बेगनास ब्राण्डमा सञ्चालन हुनेछ ।

    साँग्रिलाले काठमाडौं र पोखरामा दुईटा पाँचतारे होटल निर्माण गरिरहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend