logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी बोर्डले गर्यो स्वीकृत

    हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी बोर्डले गर्यो स्वीकृत

    455
    Shares
    हुवासिन सिमेन्टको ६ अर्ब ६३ करोड थप लगानी बोर्डले गर्यो स्वीकृत

    काठमाडौ । लगानी बोर्डले चिनियाँ लगानीमा स्थापना भएको हुवासिन सिमेन्ट नारायणी उद्योगको लगानी स्वीकृत गरेको छ । बोर्डको मंगलबार बसेको ५८ औं बैठकले उद्योगले ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ लगानी थप्ने प्रस्ताव स्वीकृत गरेको हो ।

    यसअघि लगानी बोर्डको ५७ औं बैठकले थप लगानी सम्बन्धी विषमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न बोर्डका कार्यालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । कार्यदलको सिफारिसका आधारमा मंगलबार बोर्डले लगानी स्वीकृत गरेको हो ।

    उद्योगले प्रस्तावित लगानी वायोमासबाट बिजुली उत्पादन र अन्य पूर्वाधार निर्माण गर्ने भएको छ ।

    उद्योगले २०७९ भदौबाट व्यवसायिक रुपमा सिमेन्ट उत्पादन थालेको हो । सिमेन्ट उत्पादनका लागि आवश्यक पूर्वाधार बनाउन हुवासिनले १५ अर्ब रुपैयाँ लगानी गरिसकेको छ । उद्योगले दैनिक ३ हजार टन सिमेन्ट र कच्चावस्तु क्लिन्कर उत्पादन गर्छ ।

    उद्योगले भर्टिकल रोलर मिल (भिआरएम) प्रविधिबाट सिमेन्ट उत्पादन गरिरहेको छ । भिआरएम सिमेन्ट उत्पादन गर्ने अत्याधुनिक प्रविधि हो ।

    नेपाल विद्युत प्राधिकरणले उद्योगलाई २० मेगावाट बिजुली मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उपलब्ध गराइरहेको छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो ।

    खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड रुपैयाँ लगानी गरेको थियो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्याउन सरकारले स्वीकृति दिएको थियो ।

    बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।

    उद्योगले २०७८ पुसदेखि नै परीक्षण उत्पादन गरेको थियो । उद्योग आफैंले धुलो तथा पानीको बाफ प्रयोग गरेर आन्तरिकरुपमा नै वेस्ट हिट रिकभरीमार्फत पाँच मेगावाट बिजुली आफैंले उत्पादन गरेको छ ।

    लगानी बोर्डसँग सुरुआती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड रूपैयाँ बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप तीन अर्ब रूपैयाँ लागत बढ्न गएको थियो । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाइएको थियो ।

    नेपालमा हाल झण्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ६० लाख मेट्रिकटन पुगिसकेको छ । मुलुकभर ६० सिमेन्ट र २० वटा क्लिङकर उद्योग सञ्चालनमा छन् । अझै केही उद्योगहरु पाइपलाइनमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend