logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • कोकाकोलाले सरकारलाई १२ अर्ब ८० करोड कर तिर्नुपर्ने!

    कोकाकोलाले सरकारलाई १२ अर्ब ८० करोड कर तिर्नुपर्ने!

    1.9K
    Shares
    कोकाकोलाले सरकारलाई १२ अर्ब ८० करोड कर तिर्नुपर्ने!

    काठमाडौं । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल लिमिटेडको कर दायित्व बढेर १२ अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।

    मूल्य अभिवृद्धि कर (भ्याट), आयकर पुँजीगत लाभ र अन्तःशुल्क रहेको छ । जसमध्ये १ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको बोटलर्सले जनाएको छ ।

    राजस्व अनुसन्धान विभागले २०७१ (सन् २०१४) मा स्वामित्व बिक्रीको विषयमा पुँजीगत लाभकर छलेको भन्दै ७ अर्ब ४० करोड दाबी गरेको छ ।

    यस्तै ठूला करदाता कार्यालयले पनि ५ अर्ब ४० करोड रुपैयाँ कर छली गरेको भन्दै २०७८ (सन् २०२२) मा अर्को दाबी गरेको छ । ठूला करदाता कार्यालयले पनि उच्च अदालत पाटनमा मुद्धा दायर गरेको बोटलर्स नेपालले जनाएको छ ।

    कर अधिकारीहरूद्वारा गरिएको दावीहरूको बोटलर्स नेपालले अदालतमा प्रतिरोध गरिरहेको छ । राजस्व अनुसन्धान विभाग (डिआरआई) ले गरेको कर दाबी हाल उच्च अदालतमा विचाराधिन रहेको कम्पनीले जनाएको छ । कर कार्यालयको दाबी रकम कम्पनीको नेटवर्थ वा वार्षिक सञ्चालन नाफाको तुलनामा उच्च भएको कम्पनीले जनाएको छ ।

    राजस्व अनुसन्धान विभागले २०७८ फागुन २७ गते उच्च अदालत पाटनमा दायर गरेको मुद्धामा बोटलर्स नेपालको सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार रुपैयाँ कर छली भएको दाबी गर्दै सोही रकमलाई बिगो कायम गरी मुद्दा दायर गरेको थियो । बिगो रकमको शतप्रतिशत जरिवाना गर्दा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ असुल गर्न माग गरिएको छ ।

    विभागले एक वर्षभन्दा लामो अनुसन्धानबाट २०७१ मा बोटलर्स नेपालको सेयर खरिदबिक्री गर्दा भएको लाभमा कर नबुझाएको भेटेको थियो । कर छलीको आशंकामा २०७७ मा मंसिर २३ विभागले बोटलर्स नेपालमा छापा मारेर कागजात कब्जा गरेको थियो ।

    बोटलर्स नेपालमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाको शतप्रतिशत सेयर २०७१ कात्तिक ७ मा आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा राजस्व चुहावट भएको दाबी विभागको छ ।

    नेपाली कम्पनी बोटलर्ससँग सम्बन्धित कम्पनी विदेशमै बिक्री गरेर नेपालमा कर छली गरिएको भेटिएको थियो । विभागले बोटलर्स नेपालसहित १७ जना प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

    कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदाको समयमा वोटलर्स नेपालको प्रतिकित्ता सेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८ हजार ८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता सेयर खरीद मूल्य ५ सय ३६ लाई लागतको रुपमा घटाउँदा हुन आउने रकम ३ हजार ३ सय ४७ प्रतिकित्ता पूँजीगत लाभ हुने दाबी विभागको छ । सोही लाभमा कम्पनीले पुँजीगत लाभकर नतिरेको भेटिएको विभागले जनाएको छ ।

    बोटलर्स नेपालमा ७६ प्रतिशत सेयर स्वामित्व विदेशी लगानीकर्ताको छ । २२ प्रतिशत स्वामित्व गोरखा ब्रुअरी प्रालिको र २ प्रतिशत लगानी सर्वसाधारणको छ । गोरखा ब्रुअरीमा ९० प्रतिशत स्वामित्व डेनमार्कको काल्सवर्ग गु्रपको छ । विदेशी स्वामित्वको सेयर विदेशमै किनबेच गर्दा नेपालको आयकर ऐन, २०५८ अनुसार २५ प्रतिशत पुँजीगत लाभकर छली भएको विभागको दाबी छ ।

    बोटलर्स नेपालको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पूँजीगत लाभकर छलेको आरोप छ ।

    सन् १९७९ मा स्थापना भएको बोटलर्स नेपाल लिमिटेड र यसको सहायक कम्पनी बोटलर्स नेपाल तराई लिमिटेड नेपालमा कोका कोला कम्पनीको आधिकारिक संस्था हो । कम्पनीले कार्बोनेटेड गैरअल्कोहल पेय पदार्थ कोकाकोला, स्प्राइट, फेन्टा र किन्ले उत्पादन तथा बिक्री वितरण गर्दै आएका छ । दुबै कम्पनी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत छन् ।

    बोटलर्सको व्यापार २२ अर्ब 

    बोटलर्स नेपाल र बोटलर्स नेपाल तराईले चालू आर्थिक वर्षको ६ महिनामा ८ अर्ब २९ करोड ६० लाख रुपैयाँको पेयपदार्थ व्यापार गरेको छ ।

    बोटलर्स नेपालले ४ अर्ब ५९ करोड ९० लाख र बोटलर्स नेपाल तराईले ३ अर्ब ६९ करोड ८० लाख रुपैयाँको कोकाकोला, फेन्टा, स्प्राइट र पानीको व्यापार गरेको छ ।

    सन् २०२३ मा दुबै कम्पनीहरुले कूल २२ अर्ब ४ करोड रुपैयाँको व्यापार गरेका थिए । जसमा बोटलर्स नेपालको १२ अर्ब ६४ करोड र बोटलर्स नेपाल तराईको ९ अर्ब ४० करोड ९० लाख रुपैयाँको व्यापार गरेकोे सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।

    दुबै कम्पनीको ऋण दायित्व ६ अर्ब ३७ करोड ३० लाख रुपैयाँ छ । बोटलर्स नेपालको ३ अर्ब ३६ करोड ३० लाख र बोटलर्स तराईको ३ अर्ब रुपैयाँ छ ।

    २०२२ मा दुबै कम्पनीले २१ अर्ब ७२ करोड २० लाख रुपैयाँको व्यापार गरेका थिए । जसअनुसार बोटलर्स नेपालले १२ अर्ब ५२ करोड ४० लाख र बोटलर्स तराइले ९ अर्ब १९ करोड ९० लाख रुपैयाँको कोकाकोला व्यापार गरेको थियो ।

    २०२१ मा दुबै कम्पनीले कूल १४ अर्ब ५० करोड ६० लाख रुपैयाँको व्यापार गरेका थिए । बोटलर्स नेपालले ८ अर्ब २९ करोड ९४ लाख र बोटलर्स तराईले ६ अर्ब २१ करोड २० लाख रुपैयाँ व्यापार गरेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend