आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डिजिटल प्रविधिमा जान ५० करोड लगानी थप्दै मनकामना केबुलकार

डिजिटल प्रविधिमा जान ५० करोड लगानी थप्दै मनकामना केबुलकार

काठमाडौं । मुलुककै पहिलो केबुलकार मनकामनाले नयाँ प्रविधिमा जान ५० करोड रुपैयाँ लगानी थप्न लागेको छ । केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि सो रकम लगानी गर्न लागेको हो ।

म्यानुअल प्रणालीमा चल्दै आएकोमा अब केबुलकारलाई डिजिटल प्रविधिमा लैजान लगानी थप्न लागेको मनकामना दर्शनका अध्यक्ष राजेशबाबु श्रेष्ठले बताए । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहित अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको उनले जानकारी दिए ।

डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठालगायत अन्य उपकरणसमेत फेर्न लागिएको छ ।

नयाँ प्रविधिमा जान कम्पनीले यही असार ३१ गतेदेखि करिब ५० दिन मनकामनाको केबुलकार सेवा बन्द रहने मनकामना दर्शनले जनाएको छ ।

मनकामना दर्शनले सञ्चालन गरिरहेको केबुलकार नेपालको पहिलो केबुलकार हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको हो । स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उनले बताए ।

मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ । केबुलकारको गोन्डाला भने नफेरिने भएको छ । समय समयमा केबुलकार मर्मत गरिरहेको मनकामना दर्शनले जनाएको छ ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो ।

केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन) मा रहेको रेष्टुरेन्ट सेवा निरन्तर रहने मनकामना दर्शनले जनाएको छ ।

यो आर्थिक वर्षमा १२ लाखले केबुलकार चढ्ने अनुमान कम्पनीले गरेको छ । यो वर्ष केबुलकार चढ्नेको संख्या बढेर १२ लाख नजिक पुग्ने देखिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यो वर्ष भारतीयहरु बढी आएका छन् ।

३ लाख भन्दा बढी भारतीय पर्यटकले केबुलकार चढिसकेका छन् । सेवा सञ्चालनको २५ वर्षमा मनकामना दर्शनले १ करोड ८० लाखभन्दा बढी यात्रुले मनकामना केबुलकारको सेवा लिएका छन् ।

२५ वर्षको अवधिमा मनकामना दर्शनले सरकारलाई डेढ अर्ब रुपैयाँ राजस्व बुझाइसकेको छ । चितवन कोइ ग्रुपले सञ्चालन गरिरहेको केबुलकारले झण्डै ५० करोड रुपैयाँ लगानीमा रिसोर्ट बनाइरहेको छ ।

एक वर्षभित्र रिसोर्ट सञ्चालनमा आउने अध्यक्ष श्रेष्ठले बताए । आउँदो ९ महिनाभित्र रिसोर्टको सफ्ट लञ्च गर्ने योजना रहेको उनले सुनाए ।

ठेक्कापट्टाबाट व्यवसायमा प्रवेश गरेको ग्रुपले चीनको सिनो हाइड्रो साझेदारीमा ५० मेगावाटको माथिल्लो मस्र्याङदी ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend