सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सवा अर्बमा ठमेलमा चारतारे आर्या होटल बनाउँदै गैरआवासिय कृष्ण सिम्खडा, असोजदेखि चल्ने

सवा अर्बमा ठमेलमा चारतारे आर्या होटल बनाउँदै गैरआवासिय कृष्ण सिम्खडा, असोजदेखि चल्ने

काठमाडौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलमा गैरआवासिय नेपालको लगानीमा निर्माणाधीन चारतारे आर्या होटल एन्ड स्पा प्रालिको लागत ३४ प्रतिशत बढेको छ । होटलको लागत बढेर १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

यसअघि होटल बनाउन ९३ करोड ६० लाख रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो । होटलको लागत ३१ करोड रुपैयाँ बढेको आर्याले जनाएको छ । फर्निचर, फिक्स्चर, फर्निसिङ सामग्री, टिभी र विद्युतीय उपकरणलगायत अन्य परिवर्तनका कारण लागत बढेको होटलले जनाएको छ ।

निर्माणाधीन होटलको ८५ प्रतिशत भौतिक प्रगति भएको छ । यस्तै ७२ प्रतिशत वित्तीय प्रगति भएको आर्याले जनाएको छ । होटलमा बैंकको ९६ करोड रुपैयाँ ऋण र ३० करोड रुपैयाँ संस्थापकको स्वपुँजी (इक्विटी) लगानी भएको छ । आर्यामा ७६ प्रतिशत बैंकको ऋण र २४ प्रतिशत संस्थापकहरुको स्वपुँजी हुने गरी लगानी संरचना बनाइएको छ ।

यसअघि होटलमा ७० करोड २० लाख ऋण र आर्या ग्रुपको २३ करोड ४० लाख रुपैयाँ स्वपुँजी लगानी हुने अनुमान गरिएको थियो । यस्तै आर्यामा २५ प्रतिशत संस्थापक र बाँकी ७५ प्रतिशत बैक ऋण हुने गरी लगानी संरचना तयार पारिएको थियो । लगानी बढेपछि लगानी संरचना परिवर्तन भएको छ ।

अहिलेसम्म ६८ करोड २० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भइसकेको छ । २३ करोड रुपैयाँ संस्थापकबाट स्वपुँजी लगानी भइसकेको छ । चारतारे आर्याको अत्याधुनिक सुविधासहितको ८० वटा कोठा बन्ने छ । जसमा फुड एन्ड बेभरेज, स्विमिङ पुल, कन्फरेन्स हल, हिटेड ज्याकुजी र स्पालगायत सम्पूर्ण सुविधा होटलमा हुनेछ ।

होटलको लगानीकर्ता गैरआवासिय नेपाली कृष्णप्रसाद सिम्खडा हुन् । उनीसँग आतिथ्य व्यवसायमा २० वर्षभन्दा बढीको अनुभव छ । उनले ग्रिसा अटो, अटो पार्क जापान, एभरेस्ट फुड (जापानको चेन रेस्टुरेन्ट) सञ्चालन गरिरहेका छन् । सिम्खडा आर्यका संस्थापक अध्यक्ष हुन् । उनीसँग जापानमा १४ वटा चेन रेस्टुरेन्ट छन् ।

सिम्खडाको पर्यटन क्षेत्रमा लामो अनुभवका साथै अन्तर्राष्ट्रिय टुर अपरेटरहरूसँग स्थापित नेटवर्क भएकाले होटलको अन्तर्राष्ट्रिय बजारमा पहुँच राम्रो हुने देखिएको छ। जसले गर्दा होटलको आम्दानी बढाउने छ । होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा छ ।

होटल आर्या सन् २०१८ अक्टोबरमा स्थापना भएको हो । होटल ६ सय १४ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ। होटलले १ अर्ब ५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend