सनत हमाल / मुगु । जिल्लास्थित सोरु गाउँपालिका—४ रावलबाडा गाउँका ३५ दलित परिवार बाढी पहिरोको त्रासले रातभर जागराम बस्न बाध्य भएका छन् । असार २१ गते बिहान वर्षासँगै उर्लेर आएको बाढीले खेतीयोग्य जग्गा जमिन बगरमा परिणत भई गाउँ जोखिम बनेपछि ३५ दलित घरका करिव १ सय ७५ स्थानीय त्रासले रातभर जागराम बस्न थालेका हुन् ।
गत बर्ष पनि यही समयमा गाउँ माथिबाट बाढी आउँदा खेतबारीको अन्नबाली तहसनहस पारेको थियो । यो पटक पनि सोही स्थानमा बाढी आएर जग्गा जमिन लहसनहस बनाएपछि दलित परिवारलाई उठिबास हुन थालेको छ ।
‘बाढी पहिरोको डरले हामी राति सुत्दैनौँ’ रावलबाडा गाउँका ४७ वर्षिय जाड नेपालीले भने, ‘वर्षा हुँदा बित्तिकै माथिबाट बाढी पहिरो आएर खेतीयोग्य जग्गा जमिन बगर बनाई सक्यो । बीचमा हामी दलित परिवारका घर छन् वरिपरि बाढी पहिरोले तहसनहस बनाई सक्यो ।’
राति बाढी आएपछि बग्ने डरले रातभर गाउँले जम्मा भएर घरको छतमा जागराम बस्ने गरेको दानसिँह नेपालीले बताए । बर्षा सुरु भएपछि देवी देवता पुकार्दै बस्नु परेको उनले सुनाए । कोही ओछ्यान बोकेर गाउँकै प्राथमिक बिद्यालयको भवनमा सुत्न जाने गरेका छन् ।
बाढी पहिरोको उच्च जोखिममा रहेको रावलबाडा बस्तीलाई सरकारले अन्यत्र स्थानमा सार्न अति जरुरी भइसकेको सोरु गाउँपालिका—४ का वडाअध्यक्ष गोर्ख मल्लले बताए ।