
काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको अभ्यास खेलमा नेपाल श्रीलंकासँग ३३ रनले पराजित भएको छ। मंगलबार सम्पन्न पहिलो अभ्यास खेलमा श्रीलङ्का डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पराजित भएको हो।
पहिले ब्याटिङ गरेको श्रीलङ्काली टोली निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो। वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो। तर नेपालले १५ ओभरमा ९ विकेट गुमाएर ६३ रनमात्र बनाउन सक्यो।
नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले सर्वाधिक १७ रन बनाएकी थिइन्। सीता रानामगरले ११ रन जोडेकी थिइन्। त्यसअघि बलिङमा नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए।
एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलङ्कामा आयोजना हुँदैछ।
महिला एसिया कपको नवौँ संस्करणमा आठ वटा टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ। दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन्। उक्त समूहमा चौथो टोलीको रूपमा यूएई रहेको छ। प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend