सनत हमाल, मुगु । मुगुवासीमा आयुर्वेद स्वास्थ्य सेवाप्रतिको विश्वास बढ्दै गएको छ । जिल्लामा आयुर्वेद स्वास्थ्य सेवा लिनेहरुको संख्यामा वृद्धि देखिएको हो।
पछिल्लो आर्थिक वर्षमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगुबाट स्वास्थ्य सेवा लिनेहरुको संख्या बढेको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार आर्थिक वर्ष २०८०–०८१ मा कुल २५ हजार ३ सय ६६ जना मध्य पुरुष ११ हजार ५ सय १० जना र महिला १३ हजार ८ सय ५६ जनाले आयुर्वेद स्वास्थ्य केन्द्र मुगुबाट सेवा लिएका छन् ।
‘अहिले बिस्तारै आयुर्वेद चिकित्साप्रतिको जनताको विश्वास बढ्दै गइरहेको छ ।, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मुगुका सुचना अधिकारी राजाराम बडुवालले भने, नेपाल सरकारको व्यवस्था अनुसार आफूहरुले स्थापना कालदेखि नै सबै उपचार सेवा निःशुल्क गर्दै आएका छौं ।’
टिकट काट्न, उपचार सेवा थरी थरीको औषधि र विभिन्न थेरापिहरु पनि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको उनले बताए ।
यहाँ बहिरिंग सेवा, पुर्वकर्म पञ्चकर्म, स्तनपायी आमा, ल्याब सेवा, फिजियो थेरापि, अकुपञ्चर, निः शुल्क औषधि वितरण तथा निः शुल्क फार्मेसी सेवा पनि रहेका छन्।
साथै लक्षित वर्गलाई विशेष सेवाहरु पनि दिँदै आएको जनाइएको छ। त्यस अन्तर्गत ज्येष्ठ नागरिक स्वास्थ्य सेवा प्रवर्द्धन, स्तनपायी आमा कार्यक्रम, यी बाहेक पनि जिल्लाका विभिन्न ठाउँहरुमा रहेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क स्वास्थ्य सुविधा दिँदै आएको बताएका छन्।
उनका अनुसार आर्थिक वर्ष २०८०–०८१ मा मुख्य कृयाकलापहरु पनि गरेको र जसमा नेपालकै ठुलो रारा तालमा आउने पर्यटक र स्थानियलाई मध्यनजर गरी पर्यटकमैत्री नागरिक आरोग्य सेवा केन्द्र स्थापना, आयुर्वेद तथा योग सम्बधि निशुल्क स्वास्थ्य शिविर, ल्याव सेवा संचालन, निशुल्क गाउँघर क्लिनिक संचालन, आयुर्वेद तथा बैकल्पिक चिकित्सा शिबिर, नागरिक आरोग्य सेवा समिति गठन, विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम, जेष्ठ नागरिक रसायन योग वितरण कार्यक्रम, नागरिक आरोग्य सेवा केन्द्रहरुको समय अनुसारको अनुगमन, स्तनपायी आमाहरुलाई स्तन्य बदक औषधि वितरण कार्यक्रम, पुर्वकर्म तथा पञ्चकर्म सेवा निरन्तरता, स्वास्थ्य जिवन अन्तर्गत अमृत चिया निर्माण, बजेट शिर्षक नहुँदा पनि एकल चुर्ण औषधि निर्माण जस्ता विभिन्न क्रियाकलापहरु गर्दै आएको बडुवालले बताए ।