
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले साउन मसान्तसम्म उठेको ब्याज रकम पनि गत वर्षकै आम्दानीमा गणना गर्न पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सर्कुलर जारी गरी गणना गर्न पाउने सुविधा दिएको हो । यसअघि साउन १५ सम्म उठेको ब्याजलाई मात्र असारसम्मको आयमा गणना गर्न पाउने सुविधा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको थियो ।
‘बैंक तथा संस्थाले लेखा नीति बमोजिम आर्थिक वर्ष २०८०/८१ मा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये २०८१ साउन मसान्तभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकी रकमलाई सञ्चित नाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्छ,’ राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा भनिएको छ ।
वित्तीय विवरणमा साउनको नाफा गत आर्थिक वर्षको वासलातमा समावेश गर्न पाउने भएकाले बैंकहरुलाई यसपटक सहज हुने देखिएको छ । यसबाट नाफा बढ्न गई लाभांश वितरण क्षमता सकारात्मक प्रभाव पर्न सक्ने छ ।
साथै, हालसम्म एनएफआरएस लागू भइनसकेका लघुवित्त वित्तीय संस्थाहरुले पनि साउन मसान्तभित्र गरेको आम्दानीलाई गत वर्षको नाफामा गणना गर्न पाउने भएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend