logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

    साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

    966
    Shares
    साफ यु–२० च्याम्पियनसिपमा नेपालसहित तीन राष्ट्रको उपाधि जित्ने दाबी

    काठमाडौं । नेपालसहित सहभागी ६ राष्ट्रले साफ यु–२० च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास गर्दै आफूहरू तयार रहेको बताएका छन् ।

    आईतवारबाट नेपालमा साफ यु–२० पुरुष फुटबल च्याम्पियनसिप शुरु हुँदैछ । नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ ।

    दशरथ रंगशाला खेल्नयोग्य नभएपछि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तिम समय खेल स्थल सारेको हो । शनिवार भएको पत्रकार सम्मेलनमा डिफेन्डिङ च्याम्पियन भारतसहित नेपाल र बंगलादेश उपाधि जित्ने लक्ष्य रहेको उल्लेख गरे । नेपालका प्रशिक्षक उर्जन श्रेष्ठ र कप्तान कुशल देउवा पनि घरेलु समर्थकको साथमा उच्च मनोबलका साथ खेल्दै उपाधि घरमा नै सुरक्षित राख्ने बताउँछन् ।

    नेपालका प्रशिक्षक श्रेष्ठले ४५ दिनदेखि तयारी गर्ने अवसर पाएको र सोहीअनुरूप प्रशिक्षण प्रभावकारी भएकाले नतिजा सुखद् ल्याउने विश्वास व्यक्त गरेका छन् । उनले गत संस्करण यु–१९ खेलेका ११ खेलाडी अहिले टोलीमा रहेको उल्लेख गरे । एनएसएल, लिग र ‘सी’ डिभिजन खेलिसकेका खेलाडी भएकाले अनुभवी टोली बनेको प्रशिक्षक श्रेष्ठको विश्वास छ । जहाँ प्रशिक्षण गर्यो त्यही मैदानमा खेल हुँदा त्यसको फाइदा मिल्ने नेपाली टोलीको विश्वास छ ।

    नेपाल यु–२० टोलीका कप्तान कुशल देउवाले हाल टोलीमा अधिकांश यु–१७ बाट खेलेका एउटै ब्याचका खेलाडी भएकाले टिम कम्बिनेन्स मिलेको बताए । साथै उनले तयारी पनि राम्रो भएकाले सुखद् नतिजा दिलाउने विश्वास व्यक्त गरे । उनले पछिल्लो सिजनका तुलना यसपल्ट आफ्नो टोलीले राम्रो एक्सपोजर पनि पाउनु सुखद् पक्ष रहेको उल्लेख गरेका छन् ।

    समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यी टोलीमध्ये डिफेन्डिङ च्याम्पियन भारतले उपाधि रक्षा गर्ने योजना बनाएको छ । भारतका प्रशिक्षक रञ्जन चौधरीले आफूहरू डिफेण्डिङ च्याम्पियन रहेको र सोहीअनुरूप खेल्ने लक्ष्य रहेको बताए ।

    त्यसका लागि पहिलो खेल महत्वपूर्ण र सोहीअनुरू खेल्ने अपेक्षा गरे । उनले यसको तयारीका लागि गोवामा एक महिनादेखि प्रशिक्षण गर्नुका साथै २/३ वटा मैत्रीपूर्ण खेल पनि खेलेको बताएका छन् । उनले यो टोलीमा ४ जना खेलाडी लिग खेलेका अनुभवी खेलाडी रहेको उल्लेख गरेका छन् ।

    बंगलादेशले पछिल्लो संस्करण सन् २०२२ मा भएको च्याम्पियनसिपको फाइनल खेलेको थियो । तर उपाधि भिडन्त भारतसँग अतिरिक्त समयमार्फत ५–२ गोलअन्तरले स्तब्ध हुँदा उपाधि बिमुख हुनु परेको थियो । यसपल्ट पनि फाइनल खेल्दै उपाधि लिएर जाने लक्ष्य रहेको बंगलादेशका प्रशिक्षक एकेएम मरुफुल हकको विश्वास छ । देशभित्र राजनीतिक अस्थिरता भएपनि सिटीभन्दा बाहिर रहेर टोलीले तयारी गरेको उनको भनाइ छ ।

    उनले व्यावसायिक खेलाडीहरू रहेकाले राजनीतिक अस्थिरताले प्रशिक्षणमा असर नपरेको बताएका छन् । तथापि, दुई हप्ता तयारी गरे पनि उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेर घर फर्किनेमा उनी विश्वस्त छन् ।

    बंगलादेशका कप्तान मेहदी हसन स्राबुनले गत संस्करण ट्रफीसहिछ घर फर्किएकाले आफ्नो टोलीका लागि नेपाल लक्की रहेको उल्लेख गर्दै यस पटक पनि सोही सफलता दिलाउने आशा व्यक्त गरे ।

    भारतको समूहमा रहेको माल्दिभ्सले पनि फाइनलमा पुग्ने लक्ष्यमा राखेको छ । त्यसका लागि आफ्नो टोली राम्रो तयारी गरेको माल्दिभ्सको विश्वास छ । माल्दिभ्सका प्रशिक्षक अहमद सकिरले आफ्नो टोलीले एक महिनादेखि तयारी गरेको र यसबीच खेलाडीले पनि धेरै मिहिनेत गरेको उल्लेख गरे ।

    एक प्रशिक्षक सहभागिताका लागि मात्र प्रतियोगितामा नआउने उल्लेख गर्दै उनले यसपल्ट फाइनल खेल्न लक्ष्य रहेको बताएका छन् । उनले भारत सबैभन्दा बलियो र कठिन प्रतिद्वन्दी भएपनि राम्रो चुनौती दिने विश्वास व्यक्त गरेका छन् ।

    भूटानको टोलीमा अहिले एकेडेमीबाट मात्र खेलाडी आएका छैनन् । क्लव र विभिन्न क्याम्पबाट छनोट गरेर टोली तयार पारेको भूटानको भनाइ छ । यसका लागि भूटानले करिव ढेड महिनादेखि तयारी गरेको थियो । भूटानका प्रशिक्षक हिदेहारु ताकाहासीले साफ च्याम्पियनसिप खेल्नु गौरवको रूपमा लिने उल्लेख गर्दै यसका लागि आफूहरूले राम्रो तयारी गरेको बताए ।

    यो टोलीले पारो एफसीसँग पनि मैत्रीपूर्ण खेलेका थियो । १२ जना एकेडेमीबाट आएका हुन् । बाँकी क्लवबाट छन् । त्यसैले एकै पटक लामो समयसम्म प्रशिक्षण गर्न पाएनन् । तर ढेड महिनादेखि तयारीबाट राम्रो गर्ने भूटानको विश्वास छ । भूटानका कप्तान पेमा जाङ्पोले सहभागी हुन मात्र नआएको र उसपल्ट इतिहास बनाएर फर्किने बताएका छन् । यसपल्ट आफूलाई प्रमाणित गर्ने भूटानको लक्ष्य रहेको उनको भनाइ छ ।

    श्रीलंकाका प्रशिक्षक देवासागयम राजमनीले आफ्नो टोलीले राम्रो तयारी पाएकाले प्रतिद्वन्दीका लागि राम्रो चुनौती प्रश्तुत गर्ने बताएका छन् । राजनीतिक कारण लामो समयदेखि तयारी गर्न केही समस्या भएपनि छोटो तयारीले पनि राम्रो टोली बनेको उनको विश्वास छ । यसका लागि केही अभ्यास पनि खेलेको र त्यहाँ राम्रो प्रदर्शन भएको उनले बताए ।

    नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ । घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन् । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ ।

    तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ । नेपालले उद्घाटन खेलमा आईतवार श्रीलंकासँग प्रतिष्पर्धा गर्नेछ । पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ ।

    समूह ‘ए’ मा आयोजक नेपालसहित बंगलादेश र श्रीलंका छन् । अर्को समूहमा साबिक विजेता भारत, माल्दिभ्स र भूटान छन् । यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend