काठमाडौँ । नेपाल, भारत र भियतनामका सयौं नागरिक एक सातादेखि ब्राजिलको साओपाओलोमा अलपत्र परेका छन् । नेपाल, भारत र भियतनामका गरी ६ सय ६६ जना ब्राजिलको भिसा नभएका कारण साओपाओलोमा अलपत्र परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
अलपत्र परेका नेपालीलगायत भारतीय भियतनामी ब्राजिल प्रवेशको तयारीमा थिए । भिसा नभएपछि उनीहरु अलपत्र परेको बताइएको छ । अमेरिका र क्यानाडा पलायन हुन ब्राजिललाई ट्रान्जिट प्वाइन्ट बनाउन थालेपछि त्यहाँका सुरक्षा निकायले कडाइ गर्न थालेका छन् ।
त्यहाँका अधिकारीहरुले कडाइ गरेपछि नेपाल, भारत र भियतनामका नागरिक अलपत्र परेका हुन् । उनीहरु ब्राजिल हुँदै अमेरिका र क्यानाडा जान लागेको अनुमान त्यहाँका अधिकारीले गरेका छन् । उनीहरु अहिले ब्राजिलको सुरक्षा घेरामा परेको र उनीहरुले खाना र पानी पाउन गाह्रो भएको बताइएको छ ।
अलपत्र पर्नेमा केही बच्चाहरु पनि रहेको बताइएको छ । रोयटर्सका अनुसार उनीहरुले खानाका साथै सुत्नका लागि ब्ल्याँकेटसमेत पाएका छैनन् ।
यस्तै कसुरमा घानाका ३९ वर्षिय नागरिक पनि प्रवेशाज्ञा नपाएपछि दुई सातादेखि ब्राजिलमा अलपत्र परेको बताइएको छ । ति घानाका नागरिकको अवस्था अज्ञात रहेको रोयर्टसले जनाएको छ ।
यस विषयमा नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी नभएको पाइएको छ । मन्त्रालयका प्रवत्ता अमृतबहादुर राईले अहिलेसम्म जानकारीमा नआएको बताएका छन् । नेपाली नागरिक अलपत्र परेको पाइए त्यहाँ स्थित नेपाल दुतावासबाट उद्धार गर्ने जानकारी गराएका छन् । ब्राजिलस्थित नेपाली दुताबासलाई यस विषयमा जानकारी नभएको पाइएको छ ।
पछिल्लो समय अमेरिका र क्यानाडामा पलायन हुन विभिन्न मुलुकका नागरिकहरुले ब्राजिल, पानमा र मेक्सिकोलाई प्रयोग गर्दै आएका छन् । अमेरिका जान जोखिम उठाउँदा वर्षेनी ३ हजार बढीले अकालमा ज्यान गुमाउँदै आएका छन् । जोखिम भए पनि अवैधानिक बाटोबाट अमेरिका पलायन हुने क्रम रोकिएको छैन । एजेन्सी