आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

मुकेशलाई पछि पार्दै गौतम अदानी बने भारतकै धनी, अर्बपति सूचीमा शाहरुख खानको ‘इन्ट्री’

मुकेशलाई पछि पार्दै गौतम अदानी बने भारतकै धनी, अर्बपति सूचीमा शाहरुख खानको ‘इन्ट्री’

एजेन्सी । लामो समयदेखि भारतमा सबैभन्दा धनीको ताज पहिरिँदै आएका रिलायन्स इन्डष्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानी दोस्रो नम्बरमा झरेका छन् । मुकेशलाई पूर्वाधार व्यवसायी अदानी ग्रुपका अध्यक्ष गौतम अदानीले पछि पार्दै भारतकै धनी व्यक्तिको ताज पहिरिएका छन् ।

गौतम हुरुन भारतको धनी सूचीमा पहिलो स्थानमा पुगेका हुन् । ६२ वर्षिय गौतमको सम्पत्ति ९५ प्रतिशत बढेर ११६१८०० करोड भारु पुगेको छ । झण्डै दुई वर्षअघि विश्वकै तेस्रो धनी बनेको गौतम हिडनबर्गले सेयरमा घोटला गरेको रिपोर्ट सार्वजनिक गरेपछि उनको सम्पत्ति भारी गिरावट आएको थियो । हिडेनबर्गको रिपोर्ट सार्वजनिक हुनुअघि पनि गौतमले मुकेशलाई पछि पारेर विश्वकै तेस्रो धनीको सूचीमा परेका थिए । पछिल्लो समय गौतमको सम्पत्तिमा भारी वृद्धि भइरहेको छ ।

हुरुनको प्रतिवेदनमा भारतमा गत वर्ष हरेक ५ दिनमा एक नयाँ अर्बपति थप भएको उल्लेख गरेको छ । सम्पत्ति गणना गत जुलाइ ३१ सम्मको हो ।

विश्वको पाँचौ ठूलो अर्थतन्त्र भारत एसियाको धनी सिर्जनाको इन्जिनको रूपमा देखिएको छ । भारतको अर्थतन्त्रको आकार ३८ खर्ब डलर पुगेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा अर्बपतिको संख्यामा २५ प्रतिशत घटेका बेला भारतमा भने बढेको छ । यसबीचमा भारतमा अर्बपतिको संख्या २९ प्रतिशत बढेर ३ सय ३४ पुगेको हुरुन भारतका संस्थापक र प्रमुख अनुसन्धानकर्ता अनास रहमान जुनैदले बताएका छन् ।

हुरुनका अनुसार ६७ वर्षिय मुकेश १०१४७०० करोड भारु सम्पत्तिको साथ २०२४ को हुरुन इन्डिया रिच लिस्टको दोस्रो शीर्ष स्थानमा झरेका छन् । यसबीचमा मुकेशको सम्पत्ति २५ प्रतिशत बढेको हुरुनले जनाएको छ ।

यस्तै ७९ वर्षका शिव नाडर र एचसिएल टेक्नोलोजी र परिवारको सम्पत्ति ३७ प्रतिशत बढेर ३१ खर्ब ४० अर्ब भारुका साथ तेस्रो स्थानमा छन् ।

यस्तै कोभिड खोप निर्माता साइरस सेरम इन्स्टिच्युट अफ इन्डियाका ८३ वर्षिय एस पूनावाला र परिवार सूचीमा चौथो स्थानमा छन् । पुनवालाको सम्पत्ति ४ प्रतिशत बढेर २८ खर्ब ९८ अर्ब भारु पुगेको छ ।

सन फार्मास्युटिकल इन्डस्ट्रिजका दिलीप सांघवी पाँचौ स्थानमा छन् । ६८ वर्षिय संघावीको सम्पत्ति ५२ प्रतिशत बढेर २४ खर्ब ९९ अर्ब भारु पुगेको छ ।

यस्तै आदित्य बिडला ग्रुपका ५७ वर्षिय कुमार मंगलम बिडला र परिवारको सम्पत्ति ८७ प्रतिशत बढेर २३ खर्ब ५२ अर्ब भारु पुगेको छ ।

हिन्दुजा ग्रुपका ८४ वर्षका गोपीचन्द हिन्दुजा र परिवारको सम्पत्ति ९ प्रतिशत बढेर १९ खर्ब २७ अर्ब भारु पुगेको छ । एभिन्यु सुपरमार्केटका ६९ वर्षका राधाकृष्ण दामिनी र परिवारको कूल सम्पत्ति ३३ प्रतिशत बढेर १९ खर्ब ९ अर्ब भारु पुगेको छ ।

नवौं स्थानमा रहेका विप्रोका ७९ वर्षिय आजिम प्रेमजी र परिवारको सम्पत्ति २४ प्रतिशत बढेर १९ खर्ब ७ अर्ब छ । यस्तै १० औं स्थानमा निरज बजाज र परिवारको सम्पत्ति ३५ प्रतिशत बढेको छ । ६९ वर्षका बजाजको कूल सम्पत्ति १६ खर्ब २८ अर्ब भारु पुगेको हुरुनले जनाएको छ ।

हुरुनका अनुसार विगत पाँच वर्षमा छ व्यक्तिहरू लगातार भारतको शीर्ष १० मा रहेका छन् । सूचीमा गौतम अडानी र परिवार, पछि मुकेश अम्बानी, परिवार, शिव नाडर, साइरस एस पूनावाला र परिवार, गोपीचन्द हिन्दुजा र परिवार र राधाकिशन दामानी र परिवार भारतमा सबैभन्दा कान्छो अर्बपति भएका छन् ।

हुरुन भारत धनी सूचीमा सबैभन्दा कान्छो ६ अर्ब डलर भएको स्टार्टअप जेप्टोका २१ वर्षीय कैवल्य वोहरा हुन् । कम्पनीका सह संस्थापक २२ वर्षीय अदित पालिचा सूचीमा दोस्रो कान्छा हुन् ।

पहिलो पटक भारतीय चलचित्र अभिनेता शाहरुख खानले इन्डियन प्रिमियर लिग (आइपिएल) टोली कोलकाता नाइट राइडर्समा आफ्नो होल्डिङको बढ्दो मूल्यका कारणले हुरुन इन्डिया रिच लिस्टमा स्थान बनाएका छन् । खानको सम्पत्ति ७३ अर्ब भारु छ । यस्तै उनको आफ्नै प्रोडक्सन हाउस रेड चिल्ली इन्टरटेनमेन्टले पनि सम्पत्ति बढाउन महत्वपूर्ण भुमिका खेलेको बताइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend