logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • फेरिँदै तीज मनाउने शैली, संस्कार नै हराउने चिन्ता

    फेरिँदै तीज मनाउने शैली, संस्कार नै हराउने चिन्ता

    714
    Shares
    फेरिँदै तीज मनाउने शैली, संस्कार नै हराउने चिन्ता

    मध्यविन्दु, वलपरासी । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–३ की ६५ वर्षीया गङ्गादेवी पाण्डे तीजको समयमा गाइने पुराना गीत अझै पनि गुनगुनाउँछिन् । पहिले पहिले दिदीबहिनी माइतीघरको पिँढीमा जम्मा भएर गाउने गीत उनको मानसपटलमा अझै ताजै छ । तर हिजोआज यस्तो गीत गाउन साथी भेट्नै मुस्किल पर्ने उनले बताइन् ।

    “अहिले वेदनाका गीत गाउन खोजे पनि साथी भेटिँदैनन्, तिजका नाचगान अहिले पाटीप्यालेस र होटलमा हुन थालेका छन्”, उनले भनिन्, “कसलाई रङ्ग पुराना तीजको भाकामा, मलाई त यो संस्कार नै हराउने हो कि भन्ने पिर लाग्छ ।”

    नेपाली नारीहरूले तीजपर्वलाई महान् चाडका रूपमा लिने गरेका छन् । तिजको अर्को विशेषता नारी वेदना समेटेर गाइने मौलिक गीतलाई पनि लिने गरिन्छ । पहिलेपहिले तीज आएसँगै गाउँघरका दिदीबहिनी एक ठाउँमा बसेर दुःख, वेदनाका गीत गाउने परम्परा रहिआएको थियो । तर पछिल्लो समय यस्तो चलन कम हुँदै गएको छ ।

    तीज नजिकिँदै गर्दा पहिलेपहिले गाउँघर, चौतारामा महिला दिदीबहिनी दुःखसुखका गीत गाउँदै रमाउने गर्थे । आधुनिकतासँगै यो संस्कार पनि हराउन थालेको छ ।

    यसका कारण आजभोलिको तीज खल्लो लाग्ने गरेको कावासोती नगरपालिका–१५ की यानुमाया अधिकारीले बताइन् । साँझ परेपछि पालैपालो छिमेकीको घरमा जम्मा भएर गीत गाउने गरेको सम्झना यानुमायालाई अस्ति भर्खरजस्तै लाग्छ । तर हिजोआज यस्तो रमाइलो नपाउने गरेको उनको गुनासो छ ।

    “गीतलाई आधुनिकताले छपक्कै छोपेको छ, देखासिकी बढेको छ, तीजमा आफ्नै सुखदुःख बिर्साउनेभन्दा पनि गीत बजाएर खानपिन गर्नेतर्फ धेरैको ध्यान गएको छ, यो मलाई राम्रो लागेको छैन”, उनले भनिन् ।

    स्पिकरमा बज्ने गीतले रमाइलो गराए पनि आनन्द भने नदिने बताउँछिन् अर्की स्थानीय विनिता डुम्रे । विगतका दिनमा गाउँघरमा सबै महिला दिदीबहिनी एकै ठाउँमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको अनुभव छ उनीसँग । तर पछिल्लो समय यसमा आएको परिवर्तन उनलाई पनि राम्रो लागेको छैन ।

    “पहिलेका गीतमा नारी वेदना हुन्थ्यो, खाना सादा हुन्थ्यो, स्वस्थ हुन्थ्यो, रमाइलो र आनन्द त्यसमा पो थियो”, उनले भनिन्, “अहिलेको तडकभडकमा के नै रमाइलो छ र, मात्र देखावटीपन छ ।”

    एक दशकअघिसम्म प्रत्येक घरका पिँढीमा दिदीबहिनी भेला भई रमाइलो गरेको देवचुली नगरपालिका–१३ दलदलेकी माया केसीलाई अझै सम्झना आउँछ । पहिला गाउँमा हुँदा दिदीबहिनीसँगै सुखदुःखका गीत गाउने, रमाइलो गर्ने गरेको भए पनि गाउँबाट बजारमा बसाइँ सरेपछि त्यो रमाइलो पनि हराएको मायाको अनुभव छ ।

    “हामी गाउँमा हुँदा पीडा र वेदनाका गीत पनि गाउँथ्यौँ, विकृति र विसङ्गति पनि गीतमार्फत गाउँथ्यौँ । तीजको गाउँघरमा छुट्टै महत्व हुन्थ्यो”, उनले भनिन्, “पहिले घरको पिँढीमा हुने रमाइलो अहिले पाटीप्यालेसमा सरेको छ । दुःखसुखका गीतबाट दिदीबहिनी हिन्दी गीतमा नाच्ने भएका छन् ।”

    नेपाली महिलाले तीजपर्वलाई पवित्र पर्वका रूपमा मनाउँदै आए पनि पछिल्लो समय तीज मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरूले नै गुनासो गरेका छन् ।

    तीजमा गाइने गीत र मनाउने शैलीमा आएको तडकभडकका कारण तीजको मौलिकता हराउँदै गएको छ । तीज आउनुभन्दा एक महिना अगाडिबाट दर खाने प्रचलन सहरबजारमा बढेको छ ।

    कुनै समय एउटा घरमा जम्मा भएर दर खाने दिदीबहिनी आजभोलि होटल र पाटीप्यालेसमा दर खाने गरेको स्थानीय मुना भुसालले बताइन् । दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कारअनुसारको नेपाली मौलिकपन हराउँदै गएकामा नयाँ पिँढीका महिला पनि चिन्तित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend