काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले सामाजिक सञ्जाल फेसबुकमा राखेको पोस्ट सरकारको मिलेमतोमा हटाइएको आरोप लगाएका छन् । बालेनले नेकपा एमालेकी प्रदेश सभा सदस्य रेखाकुमारी शर्माले बाल श्रम शोषण गरेको विषय सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको विवरण सरकारकै मिलेमतोमा उडाइएको आरोप लगाएका हुन् ।
प्रदेश सभा सदस्य शर्माले ती नाबालिकालाई ८ वर्षदेखि श्रम शोषण गरेर यातना दिएको दाबी बालेनले गरेका थिए । एमाले कार्यकर्ताहरूले बालेनलाई चुनौती दिँदै पुष्टि गर्न र अदालतको फैसलालाई गलत ब्याख्या नगर्न चुनौती दिएका थिए ।
तर बालेनको उक्त पोस्टमा अत्यधिक रिपोर्ट परेपछि फेसबुकले कम्युनिटी गाइडलाइन कायम नभएको भन्दै हटाइदिएको थियो । फेसबुकले हटाइदिएको उक्त पोस्टबारे बालेनले लेखेका छन्, ‘पोस्ट उडाउने होइन, दोषी समाउ सरकार !, म गलत हो भने मलाई समाउ, होइन भने दोषी समाउ ।’
उनले आफू गलत भए समातेर देखाउन पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।