logo

२०८१ पुष २० शनिबार

logo
  • शनिबार, २० पुष २०८१
  • Advertisment

    Sunaulo Nepal

    ओम मेगाश्री फर्मास्युटिकल्स : एनआरएन लगानीको ठूलो औषधी उद्योग

    ओम मेगाश्री फर्मास्युटिकल्स : एनआरएन लगानीको ठूलो औषधी उद्योग

    763
    Shares
    ओम मेगाश्री फर्मास्युटिकल्स : एनआरएन लगानीको ठूलो औषधी उद्योग

    काठमाडौं । स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प नारासहित ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले नेपालमा औषधी उत्पादन गरिरहेको छ । गत फागुन ७ गतेदेखि ओम मेगाश्रीले औपचारिक औषधी उत्पादन थालेको हो । २०७३ साल जेठ ३० गते प्रालिका रूपमा सुरु भएको ओम मेगाश्री २०७९ मा सर्वसाधारणलाई सेयर निष्कासन (आइपिओ) गर्न पब्लिक लिमिटेडमा रूपान्तरण भइसकेको छ ।

    कम्पनी आम समुदायको चासो र लगानी प्रवर्धनमा अग्रणी भूमिका निर्वाह गर्दै गुणस्तरीय औषधिमा जनताको प्रत्यक्ष पहुँच स्थापित गर्न कम्पनी क्रियाशील रहेको जानकारी दिएको छ । नेपाली औषधि उत्पादन, वितरण र निर्यात व्यवस्थामा विशेष जोड दिँदै नेपाललाई औषधि उत्पादन र उपभोगमा आत्मनिर्भर राष्ट्र बनाउन ओममेगा सक्रिय छ ।

    गैरआवसीय नेपाली लामो समयदेखि औषधी व्यवसायमा रही सो क्षेत्रको विज्ञता हासिल गरेका उद्यमी व्यवसायी तथा विशेषज्ञ डाक्टरहरूले स्थापना गरेको ओम मेगाश्रीले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को जिएमपी (असल उत्पादन अभ्यास) मापदण्ड पूरा गर्दै विभिन्न किसिमका औषधीहरु उत्पादन गरिरहेको छ । डेडिकेटेड एएचयू, अत्यधिक उत्पादन क्षमता, आधुनिक प्रविधिमैत्री डिपार्टमेन्टहरू र दक्ष जनशक्ति यस फर्मास्युटिकल्सका खास विशेषता हुन् । कम्पनीको नेतृत्व एनआरएनए पूर्वउपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले गरेका छन् ।

    सुरुआती चरणमै ३ लाख २८ हजार ५२ वर्ग फिटमा फैलिएको ओम मेगाश्रीको अत्याधुनिक उत्पादन प्रविधी रहेको छ । ओम मेगाश्री फर्मास्युटिकल्सले प्रारम्भमा कार्डियो, डाइबेटिज, न्यूरोसाइकियाट्रिक र अन्य विशेष औषधी उत्पादनमा केन्द्रित छ । ट्याब्लेट, क्याप्सुल, ओइमेन्टस्, पाउडरको उत्पादन सुरु भएको छ । आगामी दिनमा आई, इयर ड्रप, सेफा प्रोडक्ट्सका औषधी ल्याउने योजना कार्यान्वयन हुने तयारीमा छ ।

    कम्पनीले हालसम्म ५३ प्रकारका औषधीहरू उत्पादन गर्न अनुमति पाइसकेको छ । प्रारम्भमा विभिन्न किसिमका डेढ दर्जन औषधी बजारमा उपभोक्ताको सेवनका लागि तयार गरी सोको बजारीकरण कार्य सुचारु भइसकेका छन् ।

    ओम मेगाश्रीको योगदानले स्वदेशी जडीबुटी, स्थानीय जनशक्ति एवम् प्रविधिको उच्चतम उपयोग गरी उत्पादनको दायरालाई समानुकूल वृद्धि गर्दै लैजाने छ ।

    औषधी आयातलाई प्रतिस्थापन गर्दै देशभित्रको आवश्यकतालाई परिपूर्ति गर्ने, स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गरी दक्ष जनशक्तिलाई रोजगारीमा आबद्ध गर्ने, औषधी उत्पादनमा आवश्यक पर्ने जडीबुटी, कच्चा पदार्थमा प्रोत्साहन गर्दै समग्र राष्ट्रको आर्थिक समृद्धिलाई टेवा पुर्याउने, देशको औषधी व्यापार घाटालाई न्यूनीकरण गर्दै स्वदेशी उत्पादन र सोही उत्पादन प्रयोगमा आत्मनिर्भर बनाउने जस्ता उद्देश्यमा कम्पनी प्रतिबद्ध रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    ‘हामी सामान्य किसिमका औषधी प्रयोगमा समेत छिमेकी राष्ट्र वा अन्य मुलुकको भर पर्नुपर्ने स्थितिमा छौं । विश्वव्यापी रूपमा हुने महामारी तथा अन्य सङ्क्रमणयुक्त रोगसँग लड्न र तत्कालीन आवश्यकतालाई परिपूर्ति गर्न सक्षम छैनौं । त्यसका निम्ति स्वदेशी लगानी र स्वदेशी उत्पादनलाई सरकार, सरोकारवाला तथा आम उपभोक्ताले समेत विशेष ध्यान दिनु आवश्यक छ,’ उनी भन्छन्, ‘हामीले आफ्नोपनलाई आत्मसात् गरेर औषधीमा आत्मनिर्भर देश बन्नका लागि लाग्नुको विकल्प छैन । यस निर्विकल्प उपायका लागि हाम्रो उत्पादनले महत्वपूर्ण योगदान दिनेमा हामी विश्वस्त छौँ । यी हाम्रा परिचय हुन्; जसले हामीलाई वर्तमानदेखि भविष्यसम्म आम सरोकारवालासँग सहयात्रा गर्न ऊर्जा दिइरहने छ ।’

    देशको औषधी व्यापार घाटालाई न्यूनीकरण गर्नु, औषधि आयातको दरलाई कम गर्दै सर्वसाधारण जनताका लागि गुणस्तरीपय एवम् सर्वसुलभ औषधी सेवा प्रदान गर्नु, निकट भविष्यमा औषधि निर्यात गर्नु, रिसर्च एन्ड डिभलपमेन्टमा आफ्नो क्रियाशीलतालाई वृद्धि गर्दै नवीनतम प्रविधि, गुणस्तर र स्वस्थ प्रतिस्पर्धाका साथ एक सफल ग्लोबल फर्मास्युटिकल्स कम्पनी बन्नु ओम मेगाश्री फर्मास्युटिकल्सका खास लक्ष्य भएको उनले सुनाए ।

    ओम मेगाश्री फर्मास्युटिकल्स समग्रमा ‘सामूहिक लगानी’ को विश्वसनीय प्रतिफल हो; विश्वास र निरन्तरतासहितको सहकार्य हो । संस्थाले स्वास्थ्य र राष्ट्रका लागि एक सङ्कल्प भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै औषधी उत्पादन तथा वितरणसम्बन्धी उपयुक्त मापदण्डलाई पछ्याउँदै स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग गर्ने गरी आफूलाई स्थापित गराएको छ । हाल आम उपभोक्ताबीच गुणस्तरीय र सर्वसुलभ औषधी पुर्याउने एवम् यसको आयात दरलाई घटाउँदै आर्थिक समृद्धिमा टेवा पुर्याउने लक्ष्यका साथ संस्था क्रियाशील रहेको अध्यक्ष श्रेष्ठले बताए ।

    १ अर्ब लगानी

    उद्योगमा श्रेष्ठलगायत अन्य गैरआवासीय नेपालीको गरी १ अर्ब २ करोड रुपैयाँ लगानी भएको छ । ३ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा ५६ हजार वर्गफिटको मुख्य भवन निर्माण गरिएको छ । उद्योगमा २२ फिट उचाइ कायम गरेर निर्माण गरिएको छ । उद्योग चितवनको जुगेडीमा रहेको छ ।

    ठूलो क्षेत्रफलमा एउटै बिल्डिङ र त्यसमा पनि उचाइ कायम गरेर निर्माण गरिएको उद्योग नेपालमा पहिलो भएको श्रेष्ठको भनाइ छ । उद्योगले सुरुमा कार्डियो डाइबिटिज रोगको औषधी उत्पादन सुरु गरेको छ । यसको ट्याब्लेट, क्याप्सुललगायत उत्पादन थालेपछि अरु औषधीको बजार हेरेर अनुमति लिँदै उत्पादन थाल्ने श्रेष्ठले बताए ।

    उद्योगका लागि प्लान्ट चीन र भारतबाट झिकाइएको हो भने औषधि उत्पादनका लागि कच्चापदार्थ टर्की, चीन र भारतबाट ल्याउन थालेको श्रेष्ठले जानकारी दिए । हाल मुलुकभर ७३ वटा औषधि उद्योगहरु सञ्चालनमा छन् ।

    १० करोडको आईपीओ निष्कासन गर्ने

    नेपालमा सञ्चालनमा रहेका ७३ वटै औषधि उद्योगले सर्वसाधारणलाई सेयर (आइपिओ) निष्कासन गरेका छैनन् । ओम मेगाश्री सञ्चालनमा आउनासाथ आइपिओ निष्कासनको तयारी थालेको छ । उद्योगले १० करोड रुपैयाँको आईपीओ निष्कासन गर्न लागेको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

    उद्योगले आइपिओ निष्कासन गर्न प्रभु क्यापिटल लिमिटेडसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।गैरआवासीय नेपाली, औषधि व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आबद्ध तथा ईयू फर्मा टेक्निकल सपोर्ट रही ओम मेगाश्रीको औषधि उत्पादन गर्ने छ । व्यवसायी श्रेष्ठको नेपाल र युरोपको बेल्जियममा बिजनेस छ । उद्योगी श्रेष्ठको नेपालमा अक्सिजन प्लान्ट, अस्पताल, मेडिसिन, टेक्सटायल, जलविद्युत वित्तीय र होटल तथा रेस्टुराँमा लगानी रहेको छ ।

    ९० अर्बको औषधी व्यापार

    अहिले नेपाली बजारमा ९० अर्ब रुपैयाँको औषधी कारोबार हुने गरेको छ । त्यसमध्ये झण्डै ३० अर्ब रुपैयाँ बराबरको नेपाली औषधी खपत हुने गरेको छ ।आर्थिक मन्दीको असर औषधी उद्योगमा परेका छ । औषधी कारोबार ४ अर्ब रुपैयाँ घटेको छ । आर्थिक वर्ष २०७८/७९ नेपालमा नेपाली उद्योगीहरुको झन्डै ३४ अर्ब रुपैयाँको औषधिको कारोबार भएको थियो । आर्थिक वर्ष ०७९/८० मा २९ अर्ब ३६ करोड रुपैयाँको मात्र कारोबार भएको नेपाल औषधी उत्पादक संघले जनाएको छ।

    विगतमा औषधी उद्योगीले चालूपुँजी कर्जा (वर्किङ क्यापिटल लोन) कूल कारोबारको आधारमा ८० प्रतिशतसम्म पाउँथे । नेपाल राष्ट्र बैंकले नयाँ नियम ल्याएर ५० प्रतिशत मात्र दिने व्यवस्था गर्दा औषधी समस्यामा परेको उद्योगीको भनाई छ ।संघका अनुसार अहिले १० वटा औषधी उद्योग बन्द भएका छन् । भएका उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकैका छैनन् ।

    औषधी व्यवस्था विभागमा ८६ वटा आधुनिक उद्योग, ५५ आयुर्वेदिक उद्योग दर्ता छन् । ७० देखि ८० प्रतिशत औषधी उत्पादन गर्ने क्षमता भए पनि सरकार स्वदेशी औषधी खरिद नगर्दा उद्योग पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् ।

    (सुनौलो नेपालको वार्षिक संस्करणबाट)

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend