logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • एनसेलको नेपालमा दुई दशक : नयाँ प्रविधि आयो, मोबाइल सेवा सहज र सस्तो बन्यो

    एनसेलको नेपालमा दुई दशक : नयाँ प्रविधि आयो, मोबाइल सेवा सहज र सस्तो बन्यो

    1.4K
    Shares
    एनसेलको नेपालमा दुई दशक : नयाँ प्रविधि आयो, मोबाइल सेवा सहज र सस्तो बन्यो

    काठमाडौँ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेल आजियटा लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । सन् २००४ मा सञ्चालन अनुमतिपत्र (लाइसेन्स) पाएको स्पाइस नेपाल प्रालिले २००५ देखि मेरो मोबाइल ब्राण्डबाट दुरसञ्चार सेवा सुरु गरेको थियो । मेरो मोबाइलबाट एनसेल बनेको मोबाइल सेवाप्रदायक आज २० वर्षको भएको छ ।

    एनसेल नेपाल प्रवेश गर्दा सरकारी स्वामित्वको नेपाल टेलिकम र भारतीय लगानीको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) मात्रै सञ्चालनमा थिए । यूटीएलले लिमिटेड मोबिलिटी सेवाको अनुमति पाएको थियो । स्पाइसले मेरो मोबाइलका नाममा सिम बिक्री गर्न थालेपछि नेपालको टेलिकम बजारमा वास्तविक रुपमा प्रतिस्पर्धा सुरु भएको हो ।

    त्यसबेला नेपाल टेलिकमको मात्र एकछत्र राज थियो । सिमको मूल्य र शुल्क महंगो थियो भने उपभोक्ताले सिम पाउन महाभारत हुन्थ्यो । तत्कालिन मेरो मोबाइल र आजको एनसेलले सेवा सुरु गरेपछि अवस्था बदलियो । परिणामस्वरुप सहज रुपमा सस्तोमा सिम पाउने अवस्था आयो । मोबाइलबाट फोन गर्दा लाग्ने शुल्क सस्तो भइदियो ।

    मूल्य सस्तो भएपछि मेरो मोबाइलको सिम किन्ने ह्वात्तै बढे । देशका विभिन्न स्थानमा धमाधम मेरो मोबाइलका टावर बन्न थाले । समयक्रमसँगै मेरो मोबाइल एनसेल बन्यो । एनसेलले मोबाइलको विकसित प्रविधि नेपाल भित्रायो भने अधिकांश स्थानमा गुणस्तरीय फोन र इन्टरनेटको सुविधा उपलब्ध गरायो । आजको दिनसम्म एनसेलको १ करोड ३० लाख सिम प्रयोगमा आएको छ ।

    एनसेल आउनुअघि नेपालको मोबाइल सेवाको गुणस्तर कमजोर थियो भने ग्रामीण क्षेत्रमा सीमित कभरेज माात्रै थियो । एनसेलले सन् २००५ मा बजारमा प्रवेश नगरेको भए, नेपालको दूरसञ्चार क्षेत्र धेरै सुस्त गतिमा विकास भएको हुनसक्थ्यो भन्ने आधार निकै धेरै छन् । एनसेल नहुँदो हो भने टुजीदेखि फोरजीसम्मको यात्रा यति छिटो नहुन पनि सक्थ्यो । आज एनसेलले फाइभ जी सेवा दिने अवस्थामा पुगेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कंडेल एनसेलको प्रवेशले नेपालको टेलिकम क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँछन् । ‘नेपाल टेलिकमको मात्रै एकाधिकार हुन्थ्यो भने यति छिटो विकास हुने थिएन, विस्तारको गति पनि यति छिटो हुने थिएन जुन स्वभाविक हो’, उनले सुनौलो नेपालसँग भने, ‘प्रतिस्पर्धी बजारमा आफ्नो अस्तित्व जोगाउन काम गर्नैपर्ने हुन्छ । जुन बाध्यकारी अवस्था एनसेलकै कारण सिर्जित हो भन्दा फरक पर्दैन ।’

    २०१० मा नेपालमा थ्रीजी सेवा सुरु गर्ने एनसेल पहिलो मोबाइल अपरेटर बन्यो । सन् २०१७ मा फोरजी सेवा पनि सुरु गरेको थियो । यी दुई सेवाप्रदायकको बीचको प्रतिस्पर्धाले मोबाइल र इन्टरनेट सेवाहरूको मूल्यमा कमी ल्यायो । नविनतम प्रविधिको प्रयोग उपभोक्ताले छिट्टै गर्ने अवस्था आयो । सेवा गुणस्तरमा सुधार भयो भने यसबीच एनसेल र एनटीसीले पूर्वाधारमा ठूलो लगानी पनि गरे ।

    प्रतिस्पर्धात्मक बजारमा कलको गुणस्तर सुधारमा पनि व्यापार परिवर्तन भयो । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७९/८० मा दूरसञ्चार सेवामा प्रयोग हुने उपकरण आयातमा एनसेलको हिस्सा ६१.८४ प्रतिशत छ । जहाँ नेपाल टेलिकमको हिस्सा ३८.१५ प्रतिशत मात्रै छ । यसले पनि पूर्वाधारको क्षेत्रमा एनसेलको लगानी ठूलो रहेको बुझ्न सकिन्छ ।

    एनसेलमा सन् २००८ सेप्टेम्बरमा स्वीडेनको टेलिसोनेरियाले स्पाइस नेपालको स्वामित्व लिएको थियो । २०१० मार्चमा मेरो मोबाइललाई रिब्राण्डिङ गरी एनसेल बनायो । २०१६ मा टेलिसोनेरिया बाहिरिएपछि मलेशियाको आजियटाले स्वामित्व हस्तान्तरण गरेको हो । २०१७ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । २०२१ मा आएर एनसेल आजियटा पब्लिक लिमिटेडमा परिणत हुनपुग्यो । आफूलाई अझ बढी प्रविधिमैत्री बनाउन ई–सिम सार्वजनिक गर्यो । २०२३ डिसेम्बरमा आजियटा एनसेलबाट बाहिरिएको छ । एनसेलमा स्प्रेक्टलाइट युके लिमिटेडको प्रवेश भएको छ ।

    अर्थतन्त्रमा ३२० अर्ब योगदान

    एनसेलले गत आर्थिक वर्षसम्म ३ खर्ब २० अर्ब रुपैयाँ भन्दा बढी कर तिरिसकेको छ । एक दशकदेखि एनसेल सरकारलाई सबैभन्दा बढी कर तिर्ने कम्पनीहरुको सूचीमा रहन सफल हुँदै आएको छ ।

    एनसेलले दूरसञ्चारसम्बन्धी सेवाको लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्क, दूरसञ्चार सेवा शुल्क, भन्सार, स्रोतमा अग्रिम कर कट्टी (टीडीएस), अग्रीम कर, पुँजितगत लाभकर, रोयल्टीलगायतका शीर्षमा राजस्व सरकारलाई बुझाएको हो ।

    त्यति मात्रै होइन एनसेलले प्रत्यक्ष अप्रत्यक्ष गरी झण्डै २५ हजारलाई रोजगारी प्रदान गरेको छ । सेयर स्वामित्व बिक्री गर्दा एनसेलले थप ४७ अर्ब रुपैयाँ लाभकर बुझाएको छ ।

    एनसेलको प्रवेशसँगै नेपालले प्रत्यक्ष विदेशी लगानी (एफडिआई) लाई आकर्षित गरेको छ । यसले नेपालको टेलिकम क्षेत्रमा मात्र नभई अन्य क्षेत्रहरूमा पनि विदेशी लगानीकर्ताहरूको विश्वास बढायो । अप्रत्यक्ष रुपमा एनसेलले विभिन्न सेवा प्रदायक, सिम कार्ड बिक्रेता, मोबाइल फोन बिक्रेता र अन्य सम्बन्धित उद्योगहरूमा रोजगारी अवसरहरू बढाएको छ ।

    त्यति मात्रै होइन, एनसेलले नयाँ प्रविधिमार्फत यस क्षेत्रमा क्राान्ति नै ल्यायो भन्दा अन्युक्ति हुँदैन । थ्रीजी र फोरजी सेवाले इन्टरनेटको गति र पहुँच बढायो । यसबाट डिजिटल व्यवसायको आकार बढ्यो । एनसेलले ग्रामीण क्षेत्रमा आफ्नो सेवा विस्तार गरेर ग्रामीण विकासमा योगदान पुर्याएको देखिन्छ । साथै एनसेलको सेवाले बैंकिङ सेवा पहुँच नभएका क्षेत्रमा मोबाइल बैंकिङ र भुक्तानी समाधान पुर्याएर वित्तीय पहुँच र समावेशिता बढाउन सहयोग गर्याे ।

    सीएसआरमा २ अर्ब योगदान

    एनसेलले अहिलेसम्म संस्थाको सामाजिक उत्तरदायित्व (सीएसआर) मा हालसम्म २ अर्ब रुपैयाँ खर्च गरिसकेको छ । सामाजिक उत्तरदायित्वको काममा शिक्षा, स्वास्थ्य, वातावरणलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । पछिल्ला केही उदाहरणमा देशभरका ६० वटा सरकारी विद्यालयमा सूचना प्रविधिको प्रगोगमार्फत पठनपाठनका लागि आधुनिक डिजिटल आईटी ल्याव स्थापना गरिसकेकेको छ ।

    साथै, धुलिखेल अस्पतालसँगको सहकार्यमा सेवाबाट बञ्चित समुदायहरुलाई टेलिमेडिसिनमार्फत गुणस्तरीय स्वास्थ्य सेवा, काठमाडौँ उपत्यकाको रिङरोडको कोटेश्वर–कलंकी खण्डमा ग्रीन बेल्टमा हरियाली प्रवद्र्धन तथा मर्मत सम्भार, एटिन फर एटिन योजनाअन्तर्गत सातै प्रदेश समेटिने गरी १८ वटा सामाजिक कामलगायतका कार्यक्रमहरु रहेको छ ।

    कूल ६० वटा आधुनिक डिजिटल आईटी ल्यावबाट ३० हजारभन्दा बढी विद्यार्र्थीहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन्न । त्यसैगरी टेलिमेडिसिन कार्यक्रम कार्यान्वयनसँगै ग्रामीण भेगका १५ हजारभन्दा बढी घरधुरीका ८० हजारभन्दा बढी स्थानीयबासीले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच पाएका छन । सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा रहेका धुलिखेल अस्पतालअन्तर्गतका चार सामुदायिक स्वास्थ्य केन्द्रमार्फत कार्यक्रम सञ्चालनमा रहेको छ ।

    स्थानीयले दीर्घ रोग, नसर्ने रोग, सरुवा रोगलगायत रोगको उपचार सेवा पाइरहेका छन । यो कार्यक्रमको छुट्टै र नौलो विशेषता भनेको व्यक्तिगत स्वास्थ्य कार्यक्रम अर्थात पर्सनलाइज्ड हेल्थ प्रोग्राम (पीएचपी) हो । जसअन्तर्गत कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयले व्यक्तिगत स्वास्थ्य सेवा पाउँछन ।

    सीएसआरमा वार्षिकरुपमा धेरै रकम खर्च गर्ने एनसेल सम्भवत नेपाल कै नम्बर एक कम्पनी भएको एनसेलको दाबी छ । त्यसका साथै एनसेलले १० वर्षमा इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसका दुई सयभन्दा बढी विद्यार्र्थीलाई एनसेल छात्रवृद्धि तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।

    एनसेलका कर्पोरेट कम्युनिकेशन एण्ड सीएसआर विभागका सिनियर स्पेसलिष्ट रमेश श्रेष्ठ एनसेलले पछिल्लो समय शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउछन । त्यसबाहेक विपद् व्यवस्थापन तथा प्रतिकार्यका क्षेत्रमा पनि काम गरिरहेको उनको भनाइ छ । “विपद् व्यवस्थापनका लागि मनसुनको समयमा बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा बाढी पहिरोको जोमिखसम्बन्धी पूर्वजानकारीहरु एमएमएस अलर्टमार्फत प्रदान गर्दै आएका छौँ”, उनले भने, “यस कार्यले हुनसक्ने सम्भावित जनधनको क्षति न्यूनीकरण गर्न सकिन्छ ।”

    भावी योजना

    एनसेलको आधारभुत टुजी सेवाको पहुँच कुल जनसंख्याको ९२ प्रतिशतमा पुगिसकेको छ भने आधुनिक फोरजी सेवाको पहुँच कुल जनसंख्याको ९० प्रतिशतभन्दा बढीमा विस्तार भइसकेको छ । साथै देशका विभिन्न भागमा फोरजी सेवाको थप सुधार पनि गरेको छ र थप आवश्यक स्थानहरुमा सेवा विस्तारका साथै थप सुधारका कार्य योजनासहित कामहरु भइरहेको एनसेलले जनाएको छ ।

    फाइभजीको योजना

    एनसेलले भावी योजनामा फाइभजीको योजना पनि समावेश गरेको छ । हाल एनसेलले नेपाललाई भारतपछि यो प्रविधि भित्र्याउने दोस्रो दक्षिण एसियाली मुलुक बनाउने गरी काम गरिरहेको जनाएको छ । त्यसका लागि सरकारको तर्फबाट पनि सहयोग आवश्यक रहने एनसेलको भनाइ छ । फोरजीको पहुँच देशको ९० प्रतिशतभन्दाबढी जनसंख्यामा पुगिसक्दा पनि आशातित रुपमा फोरजी प्रयोग नभएको बुझाइ छ । जसले गर्दा नेटवर्क युटिलाइजेसन कम रहेको कम्पनीको भनाइ छ ।

    डेटा नै भविष्य

    आजका दिनमा मोबाइल फोन कल गर्नका लागि भन्दा बढी इन्टरनेट प्रयोगका लागि प्रयोग हुने गरेको छ । एनसल पनि इन्टरनेट अर्थात डेटा सेवा नै भविष्य हो भन्नेमा विश्वस्त छ । नेपालमा विशेष गरी सन २०१७ मा फोरजी सेवा सुरु भएपछि मोबाइल डेटाको उपयोग वार्षिक रुपमा बढिरहेको छ भने त्यसको शूल्क पनि घटेको छ । डेटाको प्रयोग बढाउँदै, डिजिटलाइजेसनमा योगदान पुर्याउँदै देशलाई फाइभजी सेवाको लागि तयारी गर्नु एनसेलले आफ्नो उद्देश्य रहेको बताएको छ ।

    सामाजिक-आर्थिक प्रभाव

    दूरसञ्चार सेवाहरूमा एनसेलले ल्याएको सुधारले नेपालको सामाजिक–आर्थिक क्षेत्रमा महत्त्वपूर्ण प्रभाव पारेको देख्न सकिन्छ । उन्नत दूरसञ्चार सेवाहरूले व्यापार सञ्चालनलाई सजिलो बनायो र नयाँ व्यापार मोडेलहरूलाई सक्षम गर्योे, विशेष गरी ई–कमर्स र आईटी क्षेत्रहरूमा पनि व्यापक सुधार भयो । सुधारिएको इन्टरनेट पहुँचले नयाँ शैक्षिक अवसरहरू खोल्यो । ई–लर्निङ प्लेटफर्महरू र अनलाइन स्रोतहरू थप पहुँचयोग्य भए भने शैक्षिक गुणस्तर सुधारमा ठूलो योगदान पुग्यो ।

    स्वास्थ्यका क्षेत्रमा पनि ठूलो सुधार भयो । मोबाइल फोन र सामाजिक मिडिया प्लेटफर्महरूले सामाजिक सञ्जाललाई परिवर्तन गरिदियो । मानिसहरूलाई परिवार र साथीहरूसँग भूगोलिक अवरोधहरूको परवाह नगरी सम्पर्कमा रहन सजिलो बनायो ।

    त्यति मात्रै होइन, प्रभावकारी सञ्चार हुँदा विपद् व्यवस्थापनमा पनि सहज भयो । गुणस्तरीय सञ्चार नेटवर्कले विपद् व्यवस्थापन र उत्तरदायित्वमा सुधार भयो । सन २०१५ को भूकम्पको समयमा एनसेललगायतका नेटवर्क उद्धार र राहतमा बढी प्रयोग गरिए ।

    घट्दो आम्दानी

    एनसेल आजियाटा लिमिटेडको व्यापार निरन्तर खस्किँदै गएको छ । गत वर्ष सन २०२३ मा एनसेलको व्यापार ६ प्रतिशत घटेर ३७ अर्ब ४४ करोड २० लाख रुपैयाँमा सीमित भएको छ ।

    २०२२ मा एनसेलले ३९ अर्ब ७२ करोड ५० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको बीचमा एनसेलको सञ्चालन आम्दानी २ अर्ब २८ करोड ३० लाख रुपैयाँ घटेको छ ।

    २०२१ मा ४० अर्ब ४२ करोड २४ लाख, २०२० मा ४६ करोड ८७ लाख ४० हजार रुपैयाँ कारोबार गरेको थियो । सन २०१८ मा झन्डै ६० अर्ब रुपैयाँ बराबर कारोबार गरेको एनसेलको २०२३ मा आइपुग्दा कारोबार घटेर ३७ अर्ब रुपैयाँमा झरेको छ ।

    पाँच वर्षमा एनसेलको आम्दानी झण्डै २२ अर्ब रुपैयाँ घटेको छ । २०१९ मा ५५ अर्ब ३९ करोड ८० लाख, २०१८ मा ५९ अर्ब ८१ करोड ६० लाख र २०१७ मा ५७ अर्ब १० करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

    कम्पनीको जिएसएमबाट हुने आम्दानी सन २०२३ मा ४२ प्रतिशत, २०२२ मा ५४ प्रतिशत र २०२१ मा ६१ प्रतिशत घटेको कम्पनीले जनाएको छ ।

    आम्दानीको ग्राफ निरन्तर ओरालो लागेका बेला एनसेलले लगानीकर्तालाई सतप्रतिशतसम्म लाभांश दिँदै आएको जनाएको छ । पछिल्ला ३ वर्षमा औसत ९४ प्रतिशत लाभांश लगानीकर्तालाई दिएको छ । सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको एनसेलले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend