logo

२०८१ कार्तिक २३ शुक्रबार

logo
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

    कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

    98
    Shares
    कुस्ती मधेसको पहिचान र अस्मिताको प्रतीक : मन्त्री यादव

    वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको खेल भएको बताएका छन् । आज वीरगञ्जमा आयोजित विराट कुस्ती प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री यादवले कुस्ती मधेसको संस्कृति, परम्परा र इतिहाससँग जोडिएको र साहस, अनुशासन तथा शक्ति प्रदर्शनको पराकाष्ठा प्रस्तुत गर्ने अद्भुत मञ्च भएको बताए ।

    उनले भने, “कुस्ती खेल केवल मनोरञ्जनको माध्यम मात्र नभएर, हाम्रो पहिचान र अस्मितासँग जोडिएको छ ।”

    पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवले कुस्तीको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए ।

    “कुस्ती हाम्रो समाजको पुरानो परम्परा हो, जसलाई जगेर्ना गरेर आधुनिक पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ । यस्ता प्रतियोगिताहरूले युवा पुस्तामा कुस्ती खेलप्रतिको आकर्षण बढाउन, उनीहरूको शारीरिक तन्दुरुस्ती सुधार्न र खेलकुदमा भविष्य खोज्न सहयोग पुर्‍याउँछ,” उनले भने ।

    यस्ता प्रतियोगिताहरूले समुदायमा खेलकुदको महत्त्वलाई पुन स्थापित गर्नुका साथै समाजलाई एकताबद्ध गर्न सहयोग पुर्याउँने मन्त्री यादवले बताए । “स्थानीय प्रतिभाहरूलाई अवसर र प्रोत्साहन दिनु आजको आवश्यकता हो । यस्तो प्रतियोगिताले युवाहरूलाई गलत बाटोमा नलागी खेलकुदमा लाग्न प्रेरित गर्छ, जुन स्वस्थ समाज निर्माणको महत्त्वपूर्ण आधार हो,” उनले भने ।

    जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव समेत रहेका मन्त्री यादवले विराट कुस्ती जस्ता प्रतियोगिताहरू मधेसको सांस्कृतिक धरोहरको पुनरुत्थानमा महत्त्वपूर्ण रहेको बताए ।

    “हामीले हाम्रो संस्कृति र परम्परालाई जीवित राख्न कुस्ती जस्तो खेललाई संरक्षण गर्नुपर्छ । यसका लागि सरकारको साथसाथै स्थानीय तह र समुदायको सक्रिय सहभागिता अनिवार्य छ ।” उनले यस प्रकारका कार्यक्रमलाई सरकारको तर्फबाट प्रोत्साहन दिन आवश्यक रहेको र भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिन राज्यले विभिन्न योजनाहरू अघि बढाउने प्रतिबद्धता जनाए ।

    वीरगञ्ज महानगरपालिका र इनरवा महावीर संरक्षक समाजको सहकार्यमा वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित महावीर मन्दिरमा आयोजित प्रतियोगितामा पर्सा, बारा, रौतहटलगायतका भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूले सहभागिता जनाए । कार्यक्रममा सहभागी रहेका वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले कुस्ती प्रतियोगिताजस्तो खेल आयोजनाले महानगरको खेलकुद क्षेत्रमा ठूलो योगदान पुर्याएको बताए ।

    “स्थानीय खेलकुदको संरक्षण र विकासका लागि महानगरपालिकाले सधैँ तत्परता देखाउनेछ,” उनले भने । प्रमुख सिंहले प्रतियोगितालाई सफल बनाउन स्थानीय संघसंस्था र समाजसेवीहरूको साथका लागि आभार पनि व्यक्त गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend