काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टीको पक्षमा सकारात्मक नतिजा आउने दाबी गरेको छ ।
मंगलबार अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले सो निष्कर्ष निकालेको हो ।
स्थानीय तह उपनिर्वाचनबारे देशभर रिपोर्ट लिने काम गरेको र सकारात्मक नतिजा पार्टीको पक्षमा आउने निष्कर्षमा पुगिएको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । वागमती प्रदेशको उपनिर्वाचनमा जित हुने माओवादी केन्द्रको जिकिर छ । बैठकले पालिका सम्मेलन र पार्टीको खवरदारी सभाका लागि योजना बनाउन एक कार्यदल पनि बनाएको छ ।
प्रवक्ता सापकोटाले भने, ‘पहिलो एजेण्डा पालिका अधिवेशनका लागि कार्यविधि बनाउने भन्ने थियो । अस्ती हामीले पालिका सम्मेलन र खवरदारी सभा एकैसाथ गर्ने भन्ने निर्णय गरेका थियौ । त्यो पालिका सम्मेलनका लागि विधान त पहिले नै पास भईसकेको हो । अब फेरि त्यसका लागि कार्यविधि चाहिन्छ । कार्यविधि बनाउनका लागि कार्यदल बनेको छ । दोस्रो कुरा अहिले उपचुनाव छ । उपचुनावको देशभरी रिपोर्ट लिइयो । अहिलेसम्म सकारात्मक भन्ने छ ।
अव कतिपय ठाउँमा जित सुनिश्चित जस्तै छ । वागमतीको दोलखादेखि काठमाडौंसम्मको सबै राम्रो छ भन्ने रिपोर्ट भएको छ । त्यसका साथसाथै खबरीदारी सभा अनि पालिका सम्मेलनको कार्यक्रम बनाउनका लागि कार्यदलले योजना ल्याउँछ । अनि फेरि कार्यालय बैठक बस्ने निर्णय गरियो । ’
पार्टीले सरकारको बिरोधमा जनदबाब सृजना गर्न देशभर पालिकास्तरसम्म खबरदारी सभा गर्ने घोषणा गरिसकेको छ ।